बाग्लुङ, माघ २५ । बाग्लुङका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गर्न सुरु गरिएको छ ।
कृषि विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताका आधारमा बाग्लुङका होटल तथा रेष्टुरेन्टको वर्गीकरण सुरु गरेको हो । सदरमुकाममा रहेका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइएको हो ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिने बताइएको छ ।
९० अंकभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाग्लुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलले बताए ।
होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्