Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


प्रधानमन्त्री कप क्रिकेटः पुलिस र आर्मी संयुक्त विजेता घोषित, १५/१५ लाख बाँडे


0
Shares

बिहीबार त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा भएको दुई विभागीय टोलीबीचको फाइनल भिडन्त वर्षाका कारण प्रभावित बनेसँगै संयुक्तरुपमा विजेता बनेका हुन् ।

टस हारेर पहिले व्याटिङ गरेको पुलिसले ४५ दशमलव १ ओभरमा अलआउट हुँदै १२६ रनको सामान्य योगफल तयार गरेको थियो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३२ रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुशन भारीले ३ विकेट लिँदै पुलिसलाई सस्तैमा समेटेका थिए ।

जवाफमा १२७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको आर्मीले १ विकेट गुमाउँदै २ दशमलव ३ ओभरमा ७ रन जोडेको अवस्थामा वर्षाका कारण खेल रोकिन पुग्यो ।

त्यसपछि खेल पुनः सन्चालन हुन सकेन र संयुक्तरुपमा दुबै टोलीलाई विजेता घोषित गरिएको हो । प्रतियोगितामा आर्मीका सागर पुन ‘म्यान अफ द सिरिज’ घोषित भए ।

आर्मीले सेमिफाइनलमा पश्चिमाञ्चल टिमलाई तथा पुलिसले सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै लामो समयपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा विजेतालाई २० लाख तथा उपविजेतालाइ १० लाख रुपैयाँ पुरस्कार रहेकोमा संयुक्त विजेता बनेसँगै दुबै टोलीले १५/१५ लाख रुपैयाँ बाँडेका छन् ।

घरेलु क्रिकेटमा यो नै अहिलेसम्मको सर्वाधिक धनराशीको प्रतियोगिता हो ।