काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि नवनियुक्त राजदूतहरुले आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सले विहीबार राजधानीमा बिभिन्न नवनियुक्त राजदूतहरुसंग गरेको छलफल कार्यक्रममा उक्त जोड दिइएको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदुतहरु “रिसिभिंग स्टेट”मा देशको प्रतिनिधि भएकोले उनीहरुको भूमिका प्रधान हुने भन्दै नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबर्दन, लगानी अभिबृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरे ।
भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्ध बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने कुरा बताए ।
साथै उनले चेम्बरले बिश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेख गरे ।
मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे, इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन आफुहरुले सक्दो पहल गर्ने बताए ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा ठूलो मात्रामा सुधार गर्नु पर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्