काठमाडौं । विश्व फुटबल महासंघ फिफाको बरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्न सकेन ।
फिफाले आज सार्वजनिक गरेको बरियता क्रममा नेपाल १६१औं स्थानमा नै यथावत रहेको छ ।
एशियन कपको उपाधि उचालेको कतार भने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५औं स्थानमा उक्लिन सफल भएको छ ।
कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रचेको थियो ।
विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ ।
यसैगरी, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।
उरुग्वे सातौँ स्थानमा रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।
त्यस्तै, भारत फिफा बरियतामा ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स १५२ औं स्थानमा रहँदा भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन् ।








प्रतिक्रिया दिनुहोस्