सत्तारुढ दल र राजपाबीचको वार्ता निष्कर्षहीन, निर्वाचनमा जान नसक्ने राजपा नेपालको अडान « Image Khabar


सत्तारुढ दल र राजपाबीचको वार्ता निष्कर्षहीन, निर्वाचनमा जान नसक्ने राजपा नेपालको अडान


Imagekhabar
२८ जेष्ठ २०७४, आईतवार १३:३०

राजपा नेपालले स्थानीय तहको निर्वाचनको मिति पर सार्न र त्यसअघि राजनीतिक सहमति जुटाउन गरेको प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजपा नेपालका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधन, स्थानीय तहको संख्या थप गर्नेलगायतका विषयमा सहमति जुट्न नसकेपछि राजपा नेपाललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने सत्तारुढ दलको प्रयास असफल भएको हो ।

बैठकमा सत्तारुढ दलका नेताहरुले स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन गर्न सम्भव नहुने भन्दै अहिले स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपा नेपालका नेताहरुलाई आग्रह गरेका थिए । उनीहरुले राजपा नेपाललाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन दल दर्तासम्बन्धी निर्वाचन कानुनलाई परिमार्जन गरेर दल दर्ताको व्यवस्था मिलाउने प्रस्ताव राखेका थिए ।

त्यसैगरी सत्तारुढ दलहरुले राजपाले भनेकै चुनाव चिह्न दिन सकिने व्यवस्थासमेत गर्न सकिने प्रस्ताव गरेका थिए ।

तर, राजपा नेपालका नेताहरुले भने संविधान संशोधन गरेर आफूहरुका माग सम्बोधन गर्नुपर्ने, त्यो हुन नसके स्थानीय तहको संख्या थप र सिमाना हेरफेर गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

स्थानीय तहको संख्या थप र सिमाना हेरफेर गरी संविधान संशोधन गर्न केही समय लाग्ने भए निर्वाचनको मिति पर सार्नुपर्ने उनीहरुको प्रस्ताव थियो ।

त्यस क्रममा सत्तारुढ दलका नेताहरुले भने स्थानीय तहको संख्या थप र सिमाना हेरफेर सर्वोच्च अदालतको आदेशका कारण तत्काल सम्भव नहुने बताएका थिए ।

संविधान संशोधन, स्थानीय तहको संख्या र सिमाना हेरफेरमा कुरा नमिलेपछि राजपा नेपालका नेताहरु बैठकबाट बाहिरिएका थिए ।

राजपा नेपालका नेताहरुले निर्वाचन ऐन संशोधन आफूहरुका लागि गौण विषय भएकाले मुख्य माग नै सम्बोधन गर्नुपर्ने अडान राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजपाका नेता अनिल झाले आफूहरुका माग सम्बोधन गर्न सरकारले आलटाल गरेकाले निर्वाचनमा सहभागी हुन नसक्ने बताए । उनले कुनै पनि हालतमा आगामी असारमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन रोक्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्