काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन हुने आयोजना कार्यान्वयनको सहजतका लागि हेजिङ फण्ड केही दिनभित्र सञ्चालनमा ल्याउने जनाएको छ ।
राष्ट्र बैंकले बुधबार सरोकारवालाहरुसँग गरेको अन्तरक्रियामा उद्योगी व्यवसायीले हेजिङ फण्डको विषयमा कुरा उठाएपछि गभर्नर चिरञ्जीवी नेपालले यो मन्त्रिपरिषद्बाट पारित भइसकेको भन्दै केहीदिन भित्र संचालनमा ल्याउने जानकारी दिएका हुन् ।
केन्द्रिय बैंकले गरेको छलफलमा उद्योगी व्यवसायीले बढ्दो व्याजदर र लगानी योग्य रकम अभाव भईरहेको अवस्थामा पुनर्कर्जाको माग गरेका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले एक खर्बको पुर्नकर्जा कोष बनाउनुपर्ने र ब्याजदर घटाउन पनि सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदर घटाउन राष्ट्र बैंकले हस्तक्षेप नै गर्नुपर्ने बताए ।
राष्ट्र बैंकले आधार दर घटाउन सुत्र संशोधन गर्दा पनि बैंकहरुले त्यसलाई प्रिमियमका रुपमा जोड्दा ब्याज नघटेको उनको गुनासो थियो ।
फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि बैंकहरुले ब्याजदरमा लिने प्रिमियमको विषयमा ठोस नीति बनाउनु पर्ने बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको समस्या समाधानका लागि अल्पकालका लागि कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) खारेज गरेर ऋण दिने क्षमता वृद्धि गर्नुपर्ने सुझाब दिए ।
दीर्घकालका लागि भने पुनर्कर्जा कोषलाई बढाउनुपर्ने उनको भनाइ थियो । राष्ट्र बैंकले आगामी साता मौत्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्