Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एनसेलको शेयर विक्री वापतको पूंजीगत लाभकर असुल्न सर्वोच्चको परमादेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको मोबाइल सेवा कम्पनी एनसेलको शेयर विक्री वापतको पूंजीगत लाभकर सोही कम्पनीबाट असुल गर्न आदेश दिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको पूर्ण इजलासले एनसेल र उसको माउ कम्पनी एक्जिएटाबाट पुँजीगत लाभकर असुल गर्न परमादेश दिएको हो ।

स्वीडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो ।

उक्त विक्री वापतको पूंजीगत लाभकर नेपालले प्राप्त गर्नुपर्नेमा त्यसो हुन सकेको थिएन ।

पूर्व सचिव द्वारिकानाथ ढुंगेललगायतले हालेको रीटमा आज फैसला गर्दै सर्वोच्च अदालतले टेलिया सोनेराले एक्जिएटालाई सेयर बिक्री गरेपनि नेपालमा भईरहेको ब्यापारको खरिद विक्री भएकाले नेपाल सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्ने ठहरसहित परमादेश जारी गरेको हो ।

यस्तै एनसेलले नेपाललाई पुँजीगत लाभकर तिर्नुपर्दैन भन्ने दाबी गर्दै एनसेल र रिनोल्डस् होल्डिङ्सको तर्फबाट देवेन्द्र प्रसाद न्हुछेले दायर गरेको रिट पनि सर्वोच्चले खारेज गरेको छ ।

खरिद विक्री लगत्तै नेपाल सरकारले टेलिया सोनेरालाई लाभांस लैजानबाट रोक्न खोजेको थियो ।

तर पछि सर्वोच्च अदालतको आदेशमा नै टेलिया सोनेराले लाभांश विदेश लगेको थियो ।

टेलिया सोनेराले लाभकर तिर्ने दायित्व आप्mनो नभएको भन्दै पन्छिने गरेको छ ।

अर्थ मन्त्रालयले संसदको लेखा समितिलाई दिएको विवरणमा एनसेल खरिद विक्री वापत नेपाल सराकरले ६० अर्ब ७१ करोड रुपैयाँ लाभकर पाउनु पर्दछ ।

सर्वोच्चले रिनोल्ड्स लगायतका बीचका कम्पनीहरु कागजी मात्रै भएको पनि ठहर गरेको छ ।