Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विद्युतभार कटौती हुन थालेपछि उदयपुर सिमेन्ट उद्योग घाटामा


0
Shares

गाईघाट, माघ २३ । डेढ वर्षयता विद्युतभार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युतभार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ ।

पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युतभार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्डै रु तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साह बताउँछन् ।

एक महिनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युतभार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन भएका कारण पुनःसिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहले बताए ।

सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युतभार कटौती हुन थालेको र सम्बन्धित निकायलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको उद्योग प्रशासनले बताएको छ । 

एक दिनमा पाँचपटकसम्म पटकपटक विद्युतभार कटौती हुँदा सात लाखदेखि १० लाखभन्दा बढी घाटा हुने गरेको पनि उद्योग प्रशासनले बताएको छ । उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षदेखियता आएर रु ५० करोडभन्दा बढीको नाफा गर्न थालेका बेला विद्युतभार कटौतीका कारण उद्योग पुनःघाटामा जान थालेको उद्योग प्रशासन बताउँछ । (रासस)