७ असार २०८२, शनिबार | Sat Jun 21 2025


तेह्रथुममा एमालेले सबै उम्मेदवारको टुंगो लगायो


0
Shares

एकै पदमा पाँचजनासम्म आकांक्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले पत्रकार सम्मेलन गर्दै जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

एमालेले जिल्लाका ६ ओटै प्रमुख पदमा पुरुषमात्रै उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार चयन गरेको छ ।

मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेदवार नपाएपछि खाली राखेको छ ।

वडाध्यक्षमा सबै पुरुषमात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीनजना महिलालाईमात्रै उम्मेदवार बनाएको छ ।

केही साताअघिसम्म एमालेले साना दलसँग गठबन्धन गर्ने भनिएको भएपनि जित सुनिश्चित भन्दै एमालेले एकल उम्मेदवारी घोषणा गरेको छ ।

एमालेले म्याङ्लुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्का, आठराई गाउँपालिकाको अध्यक्षमा मानबहादुर लिम्बू, फेदाप गाउँपालिकाको अध्यक्षमा हरि चोङ्वाङ, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र छथर गाउँपालिकाको अध्यक्षमा सन्तोष तिगेलालाई उम्मेदवार बनाएको छ । रासस