२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गंगामायाको माग सम्बोधन गरियोस् : पूर्वप्रधानन्यायाधीश कार्की


0
Shares

काठमाडौं, असार १९ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आमरण अनशनरत् गंगामाया अधिकारीको माग सम्बोधन गर्न आग्रह गरेकी छन् ।

दलहरुले गंगामायाको अनशनलाई प्रतिपक्षमा बस्दा मुद्दा बनाउने र सरकारमा गएपछि बिर्सने गरेको भन्दै कार्कीले छोरा र श्रीमान् गुमाएकी ‘गंगामायाले न्यायका लागि लाडिरहेको तर सबै मिलेर घाँटी थिचेर मार्न खोजेको’ टिप्पणी गरिन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले ‘यो कस्तो अन्याय हो ?’ भन्ने प्रश्न गर्दै ‘कमसेकम उनीमाथि भएको अन्यायका लागि हामीलाई माफी देऊ भन्न नेताहरुले किन सक्दैनन् ?’ भनिन् ।

कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाइँले न्यायका लागि जीवन–मरणसँग लडिरहेकी गंगामायाकाबारेमा कुरा गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समयसम्म नदिएको गुनासो गरे ।

पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले माग पूरा नगरेपनि कुरा सुन्नेसम्म गरेको सम्झँदै उनले प्रधानमन्त्री ओलीले भेट्नसमेत नमानेकामा आश्चर्य व्यक्त गरे ।

यस्तै, अधिवक्ता सुरेन्द्र भण्डारीले गंगामायाको अनशन ‘राष्ट्रिय लज्जा’को विषय बनेको भन्दै ‘नागरिकको आक्रोश विस्फोट भएका दिन एकसेएक बलियो हुँ भन्नेको दम्भ पनि तोडिने’ बताए ।