सेयर साप्ताहिकः सेयर बजारमा सामान्य गिरावट « Image Khabar


सेयर साप्ताहिकः सेयर बजारमा सामान्य गिरावट


Imagekhabar
२ असार २०७४, शुक्रबार १९:४२

यो साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको दुई अर्ब ९६ करोड रुपैयाँ बराबरका ४९ लाख ८ हजार कित्ता बराबर सेयरहरु खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा ११.५९ प्रतिशत कम हो । गत साता १५९ कम्पनीहरुको तीन अर्ब ३५ करोड रुपैयाँ बराबरका ५९ लाख ४३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९० अंकले घटेर अन्तिम दिन १५८९.५९ अंकमा आइ पुगेको छ ।

समूहगत उतार चढावअन्तर्गत् यो हप्ता उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४१ अंकको गिरावट आयो । बिमा समूह पनि ३५ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूह भने ३ अंक बराबरले सकारात्मक रह्यो ।

यो साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो । कारोबारकै आधारमा चार्टर्डलाई एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, आरएसडीसी लघुवित्त अनि एभरेस्ट इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा डिप्रोक्स लघुवित्त, कृषि विकास बैंक, सगरमाथा फाइनान्स, इनोभेटिभ डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक अनि ग्लोबल आइएमई बैंकका बोनस र सगरमाथा फाइनान्सका हकप्रद सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्