Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


काभ्रेमा बोधिचित्तको विवाद के हो ?


0
Shares

जिल्ला प्रसासन कार्यालय धुलिखेल र जिल्ला प्रहरी कार्यालयमा भएको पटक–पटकको छलफल निष्कर्षविहीन भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले बोधिचित्तको बोटधनी ठगुरानी तामाङलाई पहिले जुन पक्षसँग सम्झौता भएको हो, त्यही पक्षलाई नै बोटको फल दिन निर्देशन दिएको बताए ।

‘मैले यो विवाद अझै लम्बिए यसलाई सरकारीकरण गरेर रुख नै काटनसक्ने सम्भावना पनि छ भनेको छु’–प्रजिअ सिंखडाले भने । तामाङले दुबै पक्षसँग सम्झौता गरेर कमजोरी गरेको उनको भनाइ थियो ।

दुबै पक्षसँगको सम्झौतासँगै अर्को पक्षले बैंक खातामा रकम राखेको भौचरसमेत देखाएको उनले बताए ।

टिपेको फलमा तीनओटै पक्षले आफ्नो भएको दाबी गरेपछि प्रहरीले करिब चारपोका बोधिचित्तको फल दुई दिनअघि नियन्त्रणमा लिएको थियो ।

बोटधनी तामाङलाई सबैभन्दा पहिले रु ८० लाख दिएर सत्यमान लामाले सो बोट किनेका थिए । प्रहरीले नियन्त्रणमा लिएको सो फल अब धेरै दिनसम्म राखे कुहिने र ढुसी लाग्नसक्ने देखिएको छ ।

रोशी गाउँपालिकास्थित नागबेलीमा रु एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रुख तीनजना व्यापारीसँग फरक–फरक मूल्यमा बेचेपछि फल कसको हो भन्ने विषयमा विवाद भएको हो ।

रोशी गाउँपालिकामा आम्दानीको दरिलो स्रोत मानिने बोधिचित्तको माला नेपालबाहेक बौद्ध धर्मावलम्बीका लागि विदेश पैठारी हुनेगर्छ ।

पछिल्लो समय बोटमा नै कारोबार हुन थालेपछि यसको व्यापार गर्नेलाई सास्ती हुन थालेको छ ।

करोडौंको मूल्यमा कारोबार हुने बोधिचित्तको मालाका लागि केही वर्षदेखि सुरक्षा माग भएबमोजिम प्रहरीलेसमेत सुरक्षा प्रदान गरेको थियो । रासस