
चुनाव प्रचारको अन्तिम दिन भएकाले पनि आइतबार सबै दल प्रचारप्रसारमा सक्रिय थिए । सुनवल नगरपालिकामा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलहरुले दिउँसो चुनावी जुलुस र सभाको आयोजना गरेका थिए । सोही जुलुसमा भूमहीबाट सुनवलतर्फ माओवादी कार्यकर्तालाई लिएर जाँदै गरेको बसलाई लक्षित गरेर विष्फोट गराइएको हो ।
बम पुलको छेउमा राखिएको बताइएको छ ।
माओवादी केन्द्रका कार्यकर्ता बोकेको लु१ख ६७७३ नम्बरको बस सोमनाथ पुलमा पुग्ने बित्तिकै विष्फोट भएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । विष्फोटको प्रकृती हेर्दा टाईम बम जडान गरिएको हुन सक्ने प्रहरी उपरीक्षक चौधरीले बताए ।
विष्फोटबाट बसका झ्यालका सीसा र सिट क्षतिग्रस्त भएका छन् । घटनास्थल इलाका प्रहरी कार्यालय सुनवलबाट करिब २ सय मिटर पूर्व राजमार्गमा पर्छ ।
विष्फोटमा परी बस चालक बर्दघाट नगरपालिका चिसापानीका नरबहादुर वि.क. घाइते भएका छन् । घाईते हुने अन्यमा फुलकुमारी कठरिया, मिना चौधरी, १४ वर्षीय श्रीकान्त केवट, लेखनाथ सुवेदी र बेलकुमारी कठरिया रहेका छन् ।
उनीहरु सबै सुनवल नगरपालिका भतौडी गाउँका हुन् । घाईतेमध्ये लेखनाथ सुवेदी र बेलकुमारीको अवस्था गम्भीर रहेको छ । सुवेदीको बुटवलमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । बेलकुमारीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ ।
पूर्वपश्चिम राजमार्गमा भएको घटनाका कारण एक घण्टा सवारी आगमन ठप्प बनेको थियो ।
चार दिनको अवधिमा नवलपरासीको परासी क्षेत्रमा आगजनी र विष्फोटका पाँचवटा घटना भएका छन् । चुनाव विरोधी ती घटनामध्ये चारवटा माओवादी केन्द्र लक्षित छन् ।
सबै घटना नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गराएको आशंका प्रहरीको छ । सबै घटना राजमार्गको सुनवल र बर्दघाट नगरपालिकामा भएका हुन् ।
प्रदेश नम्बर ५ को परासी क्षेत्रका तीन नगरपालिकार चार गाउँपालिकामा असार १४ गते निर्वाचन हुँदै छ । बर्दघाट र सुनवल नगरपालिकाबाहेक अन्य स्थानीय तह दक्षिण क्षेत्रमा छन् ।
प्रतिक्रिया दिनुहोस्