Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


पोखरास्थित दक्षिण एसियाकै ठूलो गुफा जोखिममा (भिडियो)


0
Shares

गत वर्ष बर्खायाममा माटो र ढुंगा खसेपछि गुप्तेश्वर गुफा संरक्षणका लागि १ करोड ७ लाख रुपैयाँको लागतमा मर्मत कार्य सुरु भएको छ । जोखिम नियन्त्रण गर्न गुप्तेश्वर गुफा ब्यवस्थापन समितिले टनेल प्रविधिमा संरक्षणको काम थालेको अध्यक्ष नारायण पौडेल बताउँछन् ।

बढ्दो शहरीकरणसँगै गुफामाथि धमाधम पक्की घर ठडिने क्रम बढ्दै छ । गुफामाथि नै सिद्धार्थ राजमार्गमा दैनिक हजारांै सवारी आवतजावत गर्छन् । राजमार्गमा गुड्ने सवारीले थर्काएको जमिन र धमाधम थपिँदै गरेका पक्की संरचनाले थिचिँदै गरेकाले पनि गुफाको भित्री संरचनामा क्षति पुगेको अनुमान छ ।

यस क्षेत्रलाई २० वर्ष पहिले नै जोखिमयुक्त क्षेत्र पहिचान गरी बस्ती बसाल्न नमिल्ने विज्ञको सुझाव लत्याउँदै विना अनुमति बनेका घर कतिबेला भासिने हुन् भन्ने चिन्ता छ ।

फेवातालमा पानीको वहाब बढेसँगै उर्लने पातलेछाँगोका कारण बर्खामा गुफा पानीले भरिन्छ । गुफाभित्र पानी बगेको आवाज र राजमार्गमा गुड्ने सवारीले थर्काउने जमिनमा बनेका घरमा बस्नेहरुको पनि निद्रा हराउँछ । जब पानी पर्छ, तब यस क्षेत्रका मानिस आतंकित हुने गर्छन् ।

दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको समितिले बताएको छ । यो गुफा २०४९ साल पुस ९ गते स्थानीयले पत्ता लगाएका थिए । २०५१ जेठ २ गते जिल्ला प्रशासन कार्यालयमा गुफा व्यवस्थापन समिति दर्ता भई गुफाको मर्मतसम्भार गरी यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको छ ।

सुरुवातमा यस क्षेत्रमा तीन वटामात्रै घर थिए । अहिले गुफामाथि र वरपर गरी १ सय ३३ वटा कंक्रिट घर बनिसकेका छन् । ती घरले न त नगरपालिकाबाट नक्सा पास गरेका छन्, न सम्बन्धित कुनै निकायबाटै अनुमति लिएका छन् ।

ब्यक्तिको नीजि जग्गा सरकारले अधिग्रहण गर्न नसक्दा उच्च जोखिम भए पनि भोगचलन भइरहेको छ । भूगोलविद् डा. कृष्ण केसीले गुफा संरक्षण र सम्भावित दुर्घटना टार्नका लागि तत्काल सिद्धार्थ राजमार्गको विकल्प खोज्नुपर्ने बताए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्