Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


क्यामोमाइल र मेन्था खेतीतर्फ किसान आकर्षित


0
Shares

विराज रोस्यारा

धनगढी, माघ २० । कैलालीको धनगढी उपमहानगरपालिकाको विशालनगरका कृषक क्यामोमाइल र मेन्था खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानी हुने भएपछि खेती बढाएका कृषक विक्री वितरणका लागि गाउँमै उद्योग स्थापना भएपछि झनै खुसी भएका छन् ।

गहुँखेतीबाट खासै नाफा कमाउन नसकेका उनीहरु क्यामोमाइल र मेन्थाबाट भने झन्डै तीनगुणा बढी आम्दानी गर्न सफल भएका छन् । पहिलोपटक भएकाले सुरुमा कम क्षेत्रफलमा खेती गरेका उनीहरु यस वर्ष भने दोब्बर क्षेत्रफलमा खेती गरेका छन् । क्यामोमाईल प्रतिलिटर ५० देखि ६० हजार तथा मेन्थाको २ हजारदेखि २ हजार ५ सयमा विक्री हुने भएकाले उनीहरु यसतर्फ बढी आकर्षित भएका हुन् ।

गतवर्ष साढे दुई कठ्ठा क्षेत्रफलबाट ५० हजार बढी आम्दानी गरेकी स्थानीय टीका लामिछानेले यस वर्ष ६ कठ्ठामा यसको खेती गरेकी छन् । गहुँ खेतीका तुलनामा बढी आम्दानी हुने र सजिलो पनि हुने भएकाले यसको खेती बढाएको उनको भनाइ छ ।

क्यामोमाइल मंसिर महिनामा लगाएपछि फागुनमा तयार हुन्छ भने मेन्था चैत महिनामा लगाएपछि असारमा काट्ने बेला हुन्छ । थोरै मेहनत र छोटो समयमै प्रतिफल पाइने भएकाले यस वर्ष धेरै जग्गामा यसको खेती गरेको अर्का किसान वृद्धि चौधरी बताउँछन् ।

विभिन्न संघसंस्थाबाट तालिम पाएपछि उनीहरुल क्यामोमाईल र मेन्थाको खेती  सुरु गरेका हुन् । विक्री वितरण तथा भण्डारणका लागि सोही टोलमा आदर्श सामुदायिक वन उपभोक्ता समूहले उद्योग स्थापना गरेको छ । उक्त समूहले किसानले उत्पादन गरेको क्यामोमाईल र मेन्था भण्डारण र बिक्री वितरणमा सहयोग गर्ने गरेको हो ।