Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रक्रिया मिचेर बस्तीको बीचमा क्रसर उद्योग, स्थानीय आक्रोसित


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा बस्ती नै जोखिममा पर्ने गरी क्रसर उद्योग स्थापना गरिएपछि स्थानीय आक्रोसित भएका छन् ।

बेदकोट नगरपालिका–९ सुन्दरपुरमा कृषि फार्म खोल्ने भन्दै झुक्याएर क्रसर उद्योग स्थापना गरिएपछि स्थानीय आक्रोसित भएका हुन् ।

गाईपालन र कृषि औजार खरिद गर्न छिमेकीको मन्जुरी चाहिने भन्दै २०७२ सालमा गाउँमा हस्ताक्षर संकलन गरिएको थियो ।

यस्तै केहीलाई बाटोमा ग्राभेल हाल्न भन्दै सादा कागजमा हस्ताक्षर गर्न लगाइएको थियो ।

तर २ वर्षपछि क्रसर उद्योग सञ्चालनका लागि उपकरण आउन थालेपछि त्यो गाईपालन नभएर क्रसर उद्योग सञ्चालनका लागि हस्ताक्षर संकलन गरिएको रहस्य खुल्यो । उद्योग सञ्चालकले झुक्याएर स्थापना गरेको क्रसर उद्योग बन्द गर्नुपर्नेे माग गर्दै अहिले सुन्दारपुरबासी आन्दोलित भएका छन् ।

करिब ८ सय ५० घरधुरी रहेको सुन्दरपुरमा बस्तीको बीचमै सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग स्थापना हुँदै छ ।

बस्तीको बीचमा उद्योग खोल्दा त्यसले वातावरणीय प्रदूषण मात्र नभई मानवीय स्वास्थ्यमा पनि असर पर्ने भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए

अदालतले गत जेठ २१ गते आवश्यक स्थानीय नीति, कानुन मापदण्ड तयार गरी प्रभावकारी रुपमा योजना कार्यान्वयन, नियमन तथा अनुगमन गर्न/गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई निर्देशन दिने आदेश जारी गरेको थियो ।

तर बेदकोट नगरपालिका भने अदालतको आदेशबारे बेखबर छ । यता सञ्चालकले भने अदालतले आफ्नै पक्षमा फैसला गरेको भन्दै स्थानीयकै सहमतिमा उद्योग स्थापना गरेको दाबी गरेका छन् ।