२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सुडानकान्डका दोषी राणा जेल चलान


0
Shares

सुडान घोटालाका आरोपित काठमाडौं महानगरपालिका–४ कपनमार्ग, लोसाल बस्ने राणा बुधबार सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

राणालाई बुधबारै डिल्लीबजार कारागार चलान गरिएको छ ।

राणाले सजाय छुटका लागि सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन् । फैसला भएको ६० दिनभित्र आफैं अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पुर्‍याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।

राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जनही ६ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो ।

त्यसैगरी, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा यही असार ११ गते सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएका थिए । उनलाई एक वर्ष कैद र रु ४० हजार जेल सजाय ठहर भएको थियो ।

सोही प्रकरणका आरोपित पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो ।

चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । रासस