Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


राष्ट्रिय प्राथमिकताका आयोजनालाई बजेट अभाव हुन दिइँदैन : अर्थमन्त्री


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, माघ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई स्रोत र साधनको अभाव हुन नदिने बताएका छन् ।

कालीगन्डकी करिडोरको बागलुङखन्डलाई चौडा पार्ने कार्यको शनिबार कालाखोलाबगर बागलुङमा उद्घाटन गर्दै मन्त्री खतिवडाले राष्ट्रिय प्राथमिकताका आयोजनालाई बजेट अभाव हुन नदिने बताए ।

कालीगन्डकी करिडोरलाई पर्यटन र धार्मिकमात्र नभइ आर्थिक मार्गकारुपमासमेत विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगन्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताए ।

ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गकारुपमा यसको विकास गरिने उनको भनाइ छ ।

त्रिदेशीय सीधा सम्पर्क निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले महत्वपूर्ण सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

कालीगन्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङखन्ड कालोपत्रे सम्पन्न हुने बताइएको छ ।

चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किलोमिटर दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्ने विश्वास गरिएको छ ।

यो सडकखन्डले कोरलादेखि म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतलाई जोड्नेछ ।

वि.सं. २०७६ असारसम्म काम सक्ने र कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गर्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई प्रदान गरिएको छ ।

अहिले तत्कालका लागि बागलुङखन्डमा मालढुंगादेखि बलेवा एअरपोर्टसम्म  १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुने जनाइएको छ ।