काठमाडौं, माघ १९ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ ।
शुक्रबारका लागि फैसलावादमा तय भएको खेल वर्षाका कारण शनिबार इस्लामावादमा सारिएको थियो ।
उक्त मैदानमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले ७ ओभर ३ बलमा बिनाविकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालको जितमा मनकेसी चौधरीले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । मनकेसी अर्धशतक बनाउने पहिलो नेत्रहीन महिला खेलाडीसमेत बनेकी छन् । यस्तै, विनिता पुनले अविजित ३४ रन जोडिन् ।
यसअघि, टस जितेर ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । पाकिस्तानकी फातिमाले २७ रन जोडिन् ।
नेपालका भगवती भट्टराई र मुना अर्यालले एक/एक विकेट लिए । खेलमा नेपालकी मनकेसी चौधरी ‘प्लेयर अफ दी म्याच’ बनिन् ।
जितसँगै नेपालले पाँच खेलको सिरिजमा २–० ले अग्रता बनाएको छ । नेपालले पहिलो खेलमा पनि पाकिस्तानलाई १० विकेटले हराएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
जारी सिरिजअन्तर्गत् इस्लामावादमा आइतबार चौथो र सोमबार पाँचौं खेल हुने त्यहाँ रहेका पत्रकार गोविन्दराज नेपालले जानकारी दिए ।
नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषदको निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो ।
भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै, प्रशिक्षकमा रिजन प्रजु छन् ।
पाकिस्तानमा रहेको नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान), भगवती अमगाइँ, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल छन् । रासस








प्रतिक्रिया दिनुहोस्