१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


कुन प्रदेशमा कुन दल अगाडि ? कसले–कति जिते ?


0
Shares

आइतबार दिउँसो १ बजेसम्मको मतपरिणामअनुसार नेकपा एमाले पहिलो स्थानमा छ । दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको अहिलेसम्मको मतपरिणामअनुसार नगरपालिकामा कांग्रेस अग्रस्थानमा छ भने गाउँपालिकाहरुमा एमाले अगाडि छ ।

असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको अहिलेसम्मको मतपरिणामअनुसार तीनओटा प्रदेशमध्ये प्रदेश नम्बर–१ र ५ मा नेकपा एमाले बढी सिटमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ७ नम्बर प्रदेशमा बढी सिटमा जितेको छ ।

आइतबार दिउँसो १ बजेसम्मको मतपरिणामअनुसार प्रदेश नम्बर–१ मा एमाले अग्रस्थानमा छ ।

एमालेले अहिलेसम्म ३६ तहमा जितेको छ भने कांग्रेसले १८ र माओवादी केन्द्रले ७ तहमा जितेको छ ।

यस्तै, प्रदेश नम्बर–५ मा पनि एमाले नै अग्रस्थानमा रहेको छ । प्रदेश नम्बर–५ मा एमालेले १९, कांग्रेसले १५, माओवादी केन्द्रले ११ र अरु दलले ३ स्थानीय तहमा जित हात पारेका छन् ।

प्रदेश नम्बर–७ मा भने नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । प्रदेश नम्बर–७ मा कांग्रेसले ३१, एमालेले २७, माओवादी केन्द्रले ५ स्थानीय तहमा जित हात पारेका छन् ।

१११ नगरपालिकामध्ये नगरप्रमुखमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । अहिलेसम्मको परिणामअनुसार कांग्रेसले २० मेयर र १४ उपमेयर, एमालेले १७ मेयर र २१ उपमेयर र माओवादी केन्द्रले १ मेयर र ३ उपमेयरमा जितेको छ ।

गाउँपालिकाको अध्यक्षमा भने नेकपा एमाले अघि छ । २१५ गाउँपालिका रहेकोमा अहिलेसम्मको गणनाअनुसार एमालेले ६३ अध्यक्ष र ७२ उपाध्यक्ष, कांग्रेसले ४८ अध्यक्ष र ४२ उपाध्यक्ष, माओवादी केन्द्रले २३ अध्यक्ष र २१ उपाध्यक्षमा जित हात पारेको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले २ अध्यक्ष र २ उपाध्यक्ष र संघीय समाजवादी फोरम नेपालले १ अध्यक्ष र १ उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक फोरमले १ अध्यक्षमा जितेको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एकमात्र महानगरपालिका विराटनगरमा आइतबार दिउँसोसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

सातओटा उपमहानगरपालिकामध्ये पाँचमा एमालेले अग्रता लिएको छ भने एउटामा कांग्रेस र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टी अग्रस्थानमा छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका प्रदेश नम्बर–१ मा १४ जिल्ला छन् भने १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी जम्मा १३७ स्थानीय तह छन् ।

यस्तै, प्रदेश नम्बर–५ मा १२ जिल्लामा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १०९ स्थानीय तह छन् ।

यस्तै, प्रदेश नम्बर–७ मा ९ जिल्ला रहेकामा १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह छन् ।

३३४ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत् १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका र २ हजार ८ सय ७४ वडा रहेका छन् ।

भिडियो हेर्नुहोस्