Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘अन्तरघातले चुनाव हार्‍यौं’


0
Shares

आइतबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले अन्तरघातका कारण पार्टीका उम्मेदवार पराजित भएको जनाएको छ ।

‘निर्वाचन हार्नुको मुख्य कारण अन्तरघात नै रहेको बुझिएको छ’–कांग्रेस डोटीका जिल्ला सभापति प्रदीप देउवाले भने–‘सजिलै जित्ने तहमासमेत पार्टीका उम्मेदवार हारेका छन् । यसको सथ्यतथ्य छानबिन गरिनेछ ।’

दिपायल–सिलगढी नगरपालिकामा पार्टीभित्रकै अन्तरघातका कारण चुनाव हारेको पार्टीका नगर सभापति गणेश मलासीले बताए ।

उनले भने–‘सबै स्पस्ट छ । कांग्रेसमै बसेर कांग्रेसको विपक्षमा जनता भड्काउने, मतदातालाई अरु पार्टीलाई भोट हाल्न लगाउने गतिविधि छर्लंगै छ ।’

त्यसबाहेक पार्टीले ढिलो टिकट दिनु पनि हारको अर्को कारण रहेको उनले बताए ।

कांग्रेसबाट दिपायल–सिलगढी नगरपालिकाको प्रमुखका उम्मेदवार बाजीसिंह खड्काले पनि आफू हार्नुका कारणहरुमा अन्तर्घात, नेकपा एमालेको पैसाको चलखेल रहेको आरोप लगाए ।

‘टोल–टोलमा पैसा बगेको छ, जतिपनि प्रमाण दिनसक्छौं’–उनले भने ।

आफूले संस्कारको राजनीतिलाई बढावा दिने किसिमको शैलीमा प्रचार–प्रसार गरेको दाबी गर्दै उनले भने–‘हामीले प्रचार–प्रसारको पर्चापप्लेटसमेत बनाएनौं । चुनावलाई गरिबलेसम्म लड्नसक्ने बनाउनुपर्छ भनेर संस्कारयुक्त प्रचारशैली विकास गर्न खोज्यौं ।’

‘अन्तरघातीलाई कारबाही गरिन्छ’
निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई कारबाही गरिने जिल्ला सभापति प्रदीप देउवाले बताए ।

उनले भने–‘पार्टीलाई घात गर्नेहरु पार्टीमा रहँदैनन् । सबै ठाउँमा समीक्षा बैठक गर्न भनेका छौं । जिल्लामा पनि बैठक बस्छ । गाउँको रिपोर्टका आधारमा अन्तरघातीहरुलाई कारबाही गरिनेछ ।’

‘छायाँ मेयर बन्छु’
कांग्रेसबाट दिपायल–सिलगढी नगरपालिकाका प्रमुखका उम्मेदवार बाजीसिंह खड्काले आफू ‘छायाँ’ मेयरु भएर जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी पराजित भएपनि जनताको अभिमत स्वीकार गर्दै छायाँ मेयर भएर जनताको सेवा गर्छु’–उनले भने ।

दिपायल–सिलगढी नगरपालिकाको प्रमुखमा एमालेकी मञ्जु मलासी चार हजार ४१८ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बाजीसिंह खड्काले चार हजार १५२ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै शिवराज खड्काले चार हजार ५३६ मत ल्याइ विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी प्रसिस महराले चार हजार ९३ मत प्राप्त गरेकी छन् ।