Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


अध्यागमन विभागमा हुने ‘सेटिङ’ क्षम्यको विषय बन्नेछैन् : गृहमन्त्री शर्मा


0
Shares

फाइल फोटो

विभागद्वारा तयारगरी सोमबार (आज)देखि कार्यान्वयनमा ल्याएको ‘इमिग्रेसन मोबाइल एप’को विभागको सभा हलमा सार्वजानिक गर्दै उनले भने, ‘यहाँका केही कर्मचारीले मिलेमतो (सेटिङ)मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर कार्यसम्पादन गर्ने गर्दछन् भन्ने प्रतिवेदन (रिपोर्ट) व्यक्तिगत रुपमा पाएको छु, विभागीय रुपमा आएको छैन, यदि यस्तो हो भने मेरा लागि क्षम्यको विषय बन्दैन ।’

गृहमन्त्री शर्माले राष्ट्रसेवक कर्मचारीबाट व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनमा परी योजनाबद्ध रुपमा गलत काम भएमा तुरुन्त कारबाही गर्ने बताउँदै नेपालको समग्र तस्बिर अध्यागमनमा कार्यरत कर्मचारीको सेवाबाट अन्तर्राष्ट्रियजगत्मा जाने हुँदा यसमा कार्यरत राष्ट्रसेवकले राष्ट्रिय सुरक्षासित गाँसिएको संवेदनशील विषयलाई व्यक्तिगत र आर्थिक प्रलोभनको स्वार्थसित गाँस्नु हुँदैन भने ।

उनले भने, ‘अध्यागमनको ढोकाबाट राजनेता, व्यपारीदेखि अवैधधन्दा चलाउनेलगायत सबै छिर्छन् र बाहिरिन्छन् पनि, यस्तो अवस्थामा विभागमा कार्यरत कर्मचारीले कुशल कार्यक्षमता, पारदर्शिता र सेवाग्राहीका मनोभाव बुझी चुस्त सेवा दिनुपर्छ ।’

गृहमन्त्री शर्माले आफूले गृह मन्त्रालयको कार्यभार सम्हालेपछि समग्र गृह प्रशासनको सेवालाई जनतामैत्री बनाउन मार्गचित्र तयारगरी लागू गरेको जानकारी दिँदै कार्ययोजनाअन्तर्गत विभागको कार्यशैलीमा पनि सुधार गर्न चाहेको बताए ।

आफ्नो कार्ययोजना कार्यान्वयन गर्नेमा यो विभाग पहिलो भएकोमा बधाई दिँदै अध्यागमनका सेवालाई कागज अन्त्य (पेपरलेस) बनाउन निर्देशनसमेत दिए ।

एपको सुविधा यस्तो छ ?

विभागले अध्यागमन ऐन, २०४९, नियमावली २०५१, कार्यविधि २०६५ अनुसार देशभरका दसओटा अध्यागमन कार्यालयका सेवालाई अझ चुस्त बनाउन सहयोगीका रुपमा सो ‘एप’ कार्यान्वयनमा ल्याएको हो ।

विभागका महानिर्देशक गंगाराम गेगालका अनुसार एपमार्फत नै सेवाग्राहीले भिसाका लागि आवेदन फारम भर्न सकिने र आफ्ना गुनासा एवम् सुझावसमेत राख्न सक्नेछन् ।

त्यसैगरी, विदेश जाने र फर्कने नेपालीका लागि उपयोगी सूचनासमेत यसमा छ । पदयात्रा अनुमतिपत्रको जानकारी तथा यसका लागि अनलाइन फारम भर्ने सुविधासमेत यसमा रहेका छन् ।

महानिर्देशक गेगालले एपमा विदेश जाने र फर्किने नेपालीका लागि उपयोगी तथा आवश्यक सूचना, प्रवेश र प्रस्थान विन्दुका अध्यागमन कार्यालयका स्थलगत नक्सा र विभागका सूचनासमेत एपमा राखिएका छन् ।

महानिर्देशक गेगालले नेपालीको विदेश प्रस्थान र आगमन तथा विदेशीलाई नेपाल प्रवेशका लागि भिसा उपलब्ध, स्वीकृति, भिसाको म्याद थप र अध्यागनमसम्बन्धी अपराध नियन्त्रणका लागि विभागले काम गर्दै आएको जानकारी दिए । रासस