नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो ।
उक्त सडकमा चितवन हुँदै काठमाडौं र पोखरा जाने आउने सवारी बढी हिंड्छन् । यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन् ।
असार महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन् ।
दुई दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी चापमा परेको थियो ।
पहिरामा परेर असार महिनामा मात्रै दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन् ।
यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा दुई जनाको च्यापिएर मृत्यु भएको थियो ।
चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जोखिममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्छन् । रासस










प्रतिक्रिया दिनुहोस्