
यससँगै २५ जिल्लाका सबै स्थानीय तहको मतगणना पूरा भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)काअनुसार प्रदेश नम्बर–१ का १०९, प्रदेश नम्बर–५ का ९४ र प्रदेश नम्बर–७ का ८१ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
मंगलबार अपराह्न ३.३० बजेसम्मको मतगणनाअनुसार नेकपा एमाले १२४, नेपाली कांग्रेस १०७, नेकपा माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम नेपाल ६, नेपाल लोकतान्त्रिक फोरम नेपाल ५, राप्रपा तीन, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार एक स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।
उपप्रमुख एवं उपाध्यक्षमा एमाले १४५, कांग्रेस ९१, माओवादी केन्द्र ३६, संघीय समाजवादी फोरम पाँच, नेपाल लोकतान्त्रिक फोरम तीन तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका दुई/दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
हाल १० जिल्लाका ४६ स्थानीय तहमा मतगणना भइरहेको छ भने चार स्थानीय तहमा मतगणना स्थगन भएको छ ।
धरान नगरपालिका–९ को मतगणना समाप्त भएपछि जोड्नेक्रममा विवाद भएको तथा झापाको अर्जुनधारा–२ मा एकथान मतपत्र नपुगेकामा विवाद भइ मतगणना रोकिएको जनाइएको छ ।
त्यस्तै, उदयपुरको बेलका नगरपालिकामा खसेको मतसंख्याभन्दा तीन मत बढी भएको तथा कन्चनपुरको पुनर्वास नगरपालिका–१ मा उप्रमुखको खसेको मतभन्दा ११२ मत बढी भएका कारण विवाद उत्पन्न भइ मतगणना स्थगन भएकामा सर्वदलीय बैठकबाट सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ ।
दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्