
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ३५ जिल्लाका १११ नगरपालिकामा निर्वाचन भएको थियो ।
अहिलेसम्मको अन्तिम मतपरिणाममा केही नगरपालिकामा मेयर र उममेयरमा फरक–फरक पार्टीका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
असार १४ गते निर्वाचन भएका १११ नगरपालिकामध्ये ७५ नगरपालिकाको अन्तिम मतपरिणाम आइसकेको छ ।
अन्तिम परिणाम सार्वजनिक भएका केही जिल्लाका केही नगरपालिकामा मेयर र उपमेयर एउटै पार्टीका उम्मेदवारले जित हात पारेका छन् भने मतपरिणाम प्राप्त २१ नगरपालिकामा भने मेयर र उपमेयर फरक–फरक पार्टीका उम्मेदवारले जितेका छन् ।
प्रदेश नम्बर–१ को उदयपुर जिल्लामा ४ नगरपालिका रहेकामा २ नगरपालिकाको मेयर र उपमेयरमा मिश्रित नतिजा आएको छ ।
उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ज्ञानेन्द्रसिंह राउतले जित हात पारेका छन् भने उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार भीमकुमारी राउतले जित हात पारेकी छन् ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा एमालेका बलदेव चौधरी र उपमेयरमा कांग्रेसकी देवीकुमारी चौधरी विजयी भएका छन् ।
प्रदेश नम्बर–१ कै ताप्लेजुङको एकमात्र नगरपालिका फुङलिङमा एमालेका छत्रपति प्याकुरेलले मेयरमा जित हात पार्दा उपमेयरमा भने माओवादी केन्द्रका बमवहादुर भट्टराईले जित हात पारेका छन् ।
यस्तै, भोजपुरका दुई नगरपालिकामध्ये दुबैमा मिश्रित परिणाम आएको छ । भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका कैलाशकुमार आले, उपमेयरमा एमालेकी ममिता राई र षडानन्द नगरपालिकाको मेयरमा कांग्रेसका वीरहादुर राई र उपमेयरमा एमालेकी मेरिका राई विजयी बनेका छन् ।
मोरङका ८ नगरपालिकामध्ये रतुवामाई, लेटाङ र सुन्दरहैरचा नगरपालिकामा मिश्रित परिणाम आएको छ ।
रतुवामाईको मेयरमा कांग्रेसका रविन राई, उपमेयरमा एमालेका दयन्तदेवी चुडाल, लेटाङको मेयरमा कांग्रेसका शंकर राई, उपमेयरमा एमालेका कृष्णकुमारी निरौला र सुन्दरहैरचा नगरपालिकाको मेयरमा कांग्रेसका शिवप्रसाद ढकाल र उपमेयरमा एमालेका धनमाया तामाङले जितेका छन् ।
यस्तै, संखुवासभामा ५ नगरपालिका रहेकामा पाँचखपन नगरपालिकामा कांग्रेसका विपीन राईले मेयर र एमालेका भीमा राईले उपमेयरमा जित हात पारेका छन् ।
यस्तै, सुनसरीमा ४ नगरपालिका रहेकामा रामधुनी नगरपालिकामा कांग्रेसका प्रकाश चौधरी र उपमेयरमा एमालेकी सविना चौधरीले जितेका छन् ।
एक नगरपालिका रहेको सोलुखुम्बुको सोलुदूधकुन्ड नगरपालिकाको मेयरमा कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा र उपमेयरमा एमालेका कल्पना राईले जितेका छन् ।
प्रदेश नम्बर–५ को अर्घाखाँची जिल्लामा ३ नगरपालिका रहेकामा भूमिकास्थान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेशम थापा, उपमेयरमा कांग्रेसका षडानन्द बेल्बासे, सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमलप्रसाद भूसाल र उपमेयरमा माओवादी केन्द्रका ठाकुरकुमार विकले जितेका छन् ।
यस्तै, सितगंगा नगरपालिकाको मेयरमा कांग्रेसका सूर्यप्रसाद अधिकारी र उपमेयरमा माओवादी केन्द्रकी टीका रेग्मी विजयी भएका छन् ।
यस्तै, एकमात्र नगरपािलका रहेको दाङको लमही नगरपालिकाको मेयरमा एमालेका कुलबहादुर केसी र उपमेयरमा कांग्रेसका देवका बेल्बासे विजयी भएका छन् ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा एमालेका घननारायण श्रेष्ठ र उममेयरमा माओवादी केन्द्रका कृष्णकुश्मा थारुले जित हात पारेका छन् ।
प्रदेश नम्बर–७ को बाजुरा जिल्लामा ४ नगरपालिका रहेकोमा बूढीनन्दा नगरपालिकाको मेयरमा कांग्रेसका पदमकुमार गिरी र उपमेयरमा एमालेकी सृष्टि रेग्मीले जितेका छन् ।
यस्तै, प्रदेश नम्बर–७ कै अर्को जिल्ला दार्चुलाको मालिकार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका नरेन्द्रसिंह धामी र उपमेयरमा एमालेका पुष्पा अवस्थीले जित हात पारेका छन् ।
यस्तै, निर्वाचन भएका ७ उममहानगरपालिकामध्ये पूर्णमतपरिणाम आएको नेपालगन्ज उपमहानगरपालिकामा पनि मेयर र उपमेयर पदमा फरक–फरक पार्टीका उम्मेदवारले जित हात पारेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका धवलशम्शेर राणाले जितेका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी उमा थापामगर विजयी भएकी छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्