Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


मनमोहन मेडिकल कलेजले पत्थरी झिक्ने भन्दै मिर्गौला झिकेको आरोप


26
Shares

मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिल गरेका छन् ।

बिरामीले आफ्नो मिर्गौलाको अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि न्याय दिलाउन सबैसामु सहयोग गर्न अपिल गरेका छन् ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा गएका थिए ।

चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी भर्ना गरेर २५ गते शल्यक्रिया गरेको थियो रिमालले भने, ‘पत्थरी झिक्दा मिर्गौला पनि झिकिएको रहेछ, मलाई थाहा भएन, म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर ६ बुँदे सम्झौता भएको रहेछ, मैले डिस्चार्ज भएर घर गएपछि मात्र थाहा पाए ।’

बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नुअगाबै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताए ।

अस्पतालका पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका अस्पतालका संयोजक डा.रामकुमार अधिकारीले भने बिरामीलाई पहिले नै सबै जानकारी गराइएको बताउँदै अहिले आएर बार्गेनिङ गर्ने बहाना भएको बताए ।

रासससँग कुरा गर्दै उनले भने, ‘शल्यक्रिया गर्ने व्यक्ति नेपालकै अनुभवी चिकित्सक प्राध्यापक गुणकुमार श्रेष्ठले गरेको हो, लापरबाही भएको होइन, मिलिसकेको कुरा अहिले आएर किन उठ्यो, धेरै कारण हुनसक्छ, राजनीतिक विषय पनि जोडिएको हुनसक्छ ।’

अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दापनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्नुपरेकाले बिरामीको आफन्तको सहमति रहेको भनी उल्लेख गरेको छ ।

मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिएपनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ ।

गत जेठ २८ गते सम्झौता भएको पत्रमा मिति उल्लेख भएपनि बिरामीका श्रीमती रन्जु रिमालले भने सम्झौतापत्रमा असार ४ गते मात्र हस्ताक्षर भएको बताइन् ।

उनले भनिन्, ‘शल्यक्रिया भएपछि मिर्गौला पनि झिकिसकेको रैछ, असार ४ गतेमात्र ८, ९ जनाले घेरेर तपाईको श्रीमान्को मिर्गौला झिकेको छ, यो सम्झौतामा हस्ताक्षर गर्नुस् नत्र बिरामीको ज्यान जान्छ भनेर त्यो बेला क्यै थाहा भएन, हस्ताक्षर गरेँ, समय किन अघि सारेका हुन् भन्ने पनि त्यो बेला ख्याल भएन ।’

बिरामीले रिमालले डिस्चार्ज भएपछि पनि ४ पटक अस्पताल प्रशासनसँग आएर बुझ्दा सञ्चारमाध्यममा गए सबै सम्झौता रद्द हुने चेतावनी दिएको गुनासो गरे ।

चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै बिरामी पक्षले रु ५० लाखको क्षतिपूर्तिसहित जीवन बीमालगायतको माग राखी अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।

अस्पतालको आधिकारिक धारणा जान्न अस्पताल पुग्दा प्रशासनका व्यक्तिसँग भेट हुन सकेन् । रासस