Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नेपालगन्जको कमान्ड सम्हालेका धवलशमशेर को हुन् ? यस्तो छ विगत(भिडियो)


0
Shares

-नरेन्द्र थापा/राजेन्द्रप्रकाश ढकाल(ईमेज)

त्यो घाउमा मल्हम लगाई दिएका छन्, डाक्टर धवलशमशेर राणाले । राप्रपाको महामन्त्रीसमेत रहेका डा. धवलशमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिंदा धेरैले प्रश्न गरेका थिए ।

पार्टीको महामन्त्री भएर पनि मेयरमा चुनाव लड्ने ? हारियो भने के हुन्छ ?

तर ४ पटक नेपालगन्जको चुनावी मैदानमा उत्रिसकेका राणालाई आफ्नो विगतको राम्रो हेक्का थियो अनि मतदाताप्रतिको भरोसा । उनको त्यही भरोसाले अहिले मूर्तरुप पाएको छ ।

२० वर्ष अघिको नेपालगन्ज नगरपालिकाको नेतृत्व गरिसकेका उनले अव ५ वर्ष नेपालगन्ज उपमहानगरपालिकाको कमाण्ड सम्हाल्नेछन् । राप्रपाका उम्मेदवार धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर जित हात पारे ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा. सुरेशकुमार कनौडिया ८ हजार ७३० मत ल्याएर पराजित भए । राणाले ३ हजार ७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् ।

नेपालगन्जको खानदानी राणा परिवारका धवल राजनीतिमा लाग्नु अघि शिक्षक थिए । २०४९ सालदेखि प्रत्यक्ष राजनीतिमा संलग्न भएका राणा पहिला कुनै पनि राजनीतिक पार्टीमा खुलेर लागेका थिएनन् ।

२०४९ सालमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ जिल्ला सचिव भएर औपचारिक रुपमा राजनीतिक यात्रा सुरु गरेक हुन् ।

उनी २०५१ सालको चुनावमा नेपालगन्जवाट स्वतन्त्र रुपमा संसद्का लागि चुनाव पनि लडेका थिए तर पराजित भए ।

राप्रपावाट एमालेमा प्रवेश गरेका राणा २०५४ सालमा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

नेपालगन्ज नगरपालिकाको मेयर भइसकेपछि काम गरेर देखाउने र जनताको मन जित्ने अवसर मिल्यो उनलाई । तलब नलिइ काम गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो तलवले ठाउँ ठाउँमा प्रतिक्षालय बनाए । राणा २०६४ सालको संविधानसभा निर्वाचनमा नेपालगन्जवाटै चुनाव लडे तर जित्न सकेनन् । २०७० सालको संविधानसभा निर्वाचनमा पनि धवल प्रतिस्पर्धामा उत्रिए ।

कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालासँग फेरी आमने–सामने भए । उक्त निर्वाचनमा कोइरालाले १० हजार ७ सय ५३ मत ल्याएर विजयी हुँदा राणाले ८ हजार ८ सय ९ मत पाएका थिए ।

पटक–पटकका निर्वाचनमा जनताको घरदैलो पुग्ने राणा विजयी नभए पनि न्यानो साथ भने पाइरहे । त्यही विश्वासले उनलाई यसपाली फेरी चुनावी मैदानमा उत्रने हिम्मत जगायो, र सफल पनि भए ।

नेपालगन्जको विकासमा अन्य नेता भन्दा धवलको छवी स्वच्छ भएकाले मतदाताले उनैलाई रोजेको धेरैको बुझाइ छ । नेपालगन्जवासीलाई विकासको भोक उनैले जगाई दिएका हुन् ।

२०५४ सालमा उनी मेयर हुँदा साँघुरिएका नेपालगन्जका बजारका वाटा फराकिला हुन थाले । त्यहि साँघुरो बजारको बीचमा चार लेनको फराकिलो बाटो बन्यो । अहिले नेपालगन्ज सहरको त्यहि बजार न्यूरोड भएर स्थापित छ ।

सडक बजार सरसफाईजस्ता जनतासँग जोडिएका विषयमा राणाको चासो थियो ।

त्यहि बेला बन्यो नेपालगन्जमा वाटरपार्क, रानी तलाउ, अनि महेन्द्र पार्क यी तिनवटा गौरवसँग जोडिएर आउने राणाको नाम धेरै नेपालगन्जवासीको मनमा अमिट छाप बनेर बसेको छ ।

नेपालगन्जमा विकासप्रेमी नेताको छवि बनाएका धवलशम्शेरलाई पार्टीगत भन्दा व्यक्तिगत मत बढी गएको देखिएको छ ।

नेपालगन्ज जस्तो मुस्लिम बहुल क्षेत्रमा मुस्लिम समुदायकै व्यक्ति समेत मेयरको उमेद्वार हुँदा उनले आफ्नो जित सुनिस्चित गरे ।

नेपालगन्ज उपमहानगरपालिकाको यो नतिजाले के पनि पुष्टि गरेको छ भने जनताले पार्टीलाई मात्र हैन उमेद्वारको व्यक्तित्वलाई पनि प्राथमिकता दिएका छन् ।

‘हाम्रो होइन राम्रो मान्छेलाई रोज्नुपर्छ’ भन्ने सन्देश दिन नेपालगन्जबासी सफल भएका छन् ।