बनियानी, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापाको भद्रपुर–५ स्थित मेचीपुलको बिहीबार उद्घाटन गर्दै उनले भने–‘सरकारले पूर्वपश्चिम रेलमार्ग सन्चालन गर्ने सङ्कल्प गरेको छ । मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौं ।’
रेल र पानीजहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए ।
सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानीजहाज सन्चालन गर्न लागेको बताउँदै उनले कोसी नदीमा पनि पानीजहाज सन्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।
मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल सन्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए ।
‘अब मेचीपुल सन्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’–उनले भने–‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’
तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वि.सं. २०६८ माघ २१ गते मेचीपुलको शिलान्यास गरेका थिए ।
कुल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।
पुल निर्माण भएसँगै भारतको बंगाल तथा विहार राज्यसँग सडकमार्फत् सोझो सम्पर्क स्थापित भएको छ । रासस









प्रतिक्रिया दिनुहोस्