Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


राजपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दियो


0
Shares

तराई–मधेसकेन्द्रित राजनीति गर्दै आएका ६ दलले एकीकृत पार्टीकारुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्षमन्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न ४.४५ बजे आयोगमा पुगेका थिए ।

आयोगको सभाकक्षमा कामु सचिव महेश्वर न्यौपानेलाई सदस्य ठाकुरले दल दर्ताका लागि निवेदनसहितको आवश्यक कागजात बुझाए । त्यसलगत्तै आयोगले उनीहरुको निवेदन दर्ता गरेको थियो । दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनको दर्ता नम्बर ८३६६ रहेको छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गत वैशाख ७ गते एकीकृत भएपछि राजपाको जन्म भएको हो । राजपाले आफ्नो चुनाव चिह्न ‘छाता’ प्रस्ताव गरेको छ ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानको केही अन्तरवस्तुमाथि फरक विचार राखेर आन्दोलन गर्दै आएका मधेसकेन्द्रित दललाई स्थानीय तहको निर्वाचनको घोषणाले एकीकृत हुन दबाब सिर्जना गरेको थियो ।

एकीकृत दलको विधानलाई अन्तिमरुप दिनेक्रममा ती दलबीच विवाद देखिएका कारण दल दर्ता गर्न केही ढिलाइ भएको बताइएको छ ।

दल दर्ताको निवेदन दिएर बाहिरिनेक्रममा सन्चारकर्मीको जिज्ञासामा अध्यक्षमन्डलका सदस्य ठाकुरले दल दर्ताका लागि निवेदन दिन आएको प्रतिक्रिया दिए ।

उनले भने–‘विधानसहित आवश्यक काजगत पेस गरिसकेका छौं, अब प्रक्रियामा जान्छ, सरकारले प्रस्टसँग संवाद गरिरहेको छैन, हामीले उठाएका माग सम्बोधन भएका छैनन्, यथास्थितिमा चुनावमा भने प्रवेश गर्ने छैनौं ।’

‘आन्दोलनको दौरानमा नेताले, जनताले क्षति व्यहोरेको छ, धरपकड हुँदैछ, त्योबेलाको मुद्दा फिर्ता लियोस्, जेलमा परेकालाई छोडियोस्, अपांग र घाइतेलाई क्षतिपूर्तिको व्यवस्था गरोस् सरकारले अनि हामी सोच्छौं, यो संविधानमा हाम्रो स्थान नै छैन’–नेता ठाकुरले भने ।

आजको दल दर्ता निर्वाचनसँग सरोकार नराख्ने प्रतिक्रिया दिँदै नेता राजेन्द्र महतोले भने–‘६ ओटा पार्टी एकीकृत भएकाले दल दर्ता स्वभाविक प्रक्रिया हो । तेस्रो निर्वाचनमा राजपा गयो भनियो भने त्यो भूल हुनेछ ।’

अध्यक्षमन्डलका नेतामध्ये शरत्सिंह भण्डारी मुलुकबाहिर रहेकाले उपस्थित भएनन् । दल दर्ताका लागि राजपाका सांसद र अरु नेता तथा कार्यकर्ता आयोगमा पुगेका थिए । रासस