८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


एउटाको नाममा दर्ता भएको औषधि पसलमा अर्कै संचालक


0
Shares

लमजुङ, असार १९ । लमजुङमा एउटाको नाममा दर्ता भएको औषधि पसल अर्कै व्यक्तिले सञ्चालन गरेको भेटिएको छ ।

औषधि व्यवस्था विभागले बेसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकाका विभिन्न ठाउँमा गरेको अनुगमनका क्रममा अवैधरुपमा औषधि पसल संचालन गर्ने गरेको भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एउटाको नाममा दर्ता भएको औषधि पसल अरु व्यक्तिले सञ्चालन गर्न नपाउने बताए ।

विभागले २९ वटा फार्मेसीको अनुगमन गरेकोमा चार वटाको दर्ता नै नभएको फेला परेको जनाएको छ ।

ती फार्मेसी बन्द गरी १० दिनभित्र औषधि व्यवस्था विभाग काठमाडौंमा उपस्थिति हुन संचालकलाई निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीले केही फार्मेसीबाट अवैध औषधि बिक्रीवितरण हुने गरेकोसमेत फेला पारेको छ ।

त्यस्तो औषधि जफत गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।