सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै सो पार्टीका संसदीय दलका नेतासमेत रहेका दाहालले भने, ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो । अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्छ ।’
संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको विकल्प नरहेको उनले बताए । उनले भने, ‘हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टिमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’
बैठकमा दाहालले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो । श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्