१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


५७ वर्षदेखि अनुहारमा ट्युमर झुन्ड्याएर गुजारा गर्दै वृद्धा


0
Shares

चीनको लुओयांग सहरकी डुआन नाम गरेकी ६० वर्षीया ती महिलाले आर्थिक अभावका कारण बाल्यकालदेखि आफ्नो अनुहारमा देखापरेको ट्युमरको शल्यक्रिया गराउन नसकेको ‘डेलिमेल अनलाइन’ले उल्लेख गरेको छ ।

उनको अनुहारमा आएको ट्युमर बढेर कम्मर छुन लागेको छ भने शरीरका अरु भागहरुमा स–साना ट्युमर पलाएका छन् ।

उनले चीन सरकारले उनलाई उपचार गर्न ८०० युआन अनुदान दिएको तर उक्त रकम प्रयाप्त नभएकाले उनले उपचार गर्न नसकेकी बताइन् ।

नेसनल हेल्थ सोसाइटी युकेकाअनुसार उनी ‘न्यूरोफाइब्रोमेटोसिस’ भन्ने रोगबाट ग्रसित छिन् ।

‘जेनेटिक म्युटेसन’ (अनुवंशिक उत्परिवर्तन)का कारण देखापर्ने यो रोगबाट ग्रसित मानिसको शरीरभरि स–साना ट्युमरहरु पलाउने गर्दछ । साथै, यस रोगले शरीरको स्नायु प्रणालीलाई ट्युमरकोरुपमा विकास गरिदिन्छ ।

उनले भनेअनुसार तीन वर्षको उमेरमै पहिलोपटक स–साना ट्युमर देखापर्न थालेको थियो । सबैभन्दा पहिले ट्युमरको लक्षण अनुहारमा देखापरेको थियो । जुन अहिले सबैभन्दा ठूलो लामो लत्रिएको अवस्थामा छ ।

परिवारले उनलाई शल्यक्रियाको पहुँचबाट बन्चित गरी ट्युमर बढ्न दिन बाध्य पारिएको थियो । उनले भनिन्–‘मैले दुईपटकसम्म विवाह गरें तर उपचार गर्न सकिनँ, अहिले एक्लो छु ।’

उनले पहिलो विवाह यही रोगकै कारण सम्बन्धविच्छेद भएको र दोस्रो विवाह गरेपछि १० वर्षअघि श्रीमान्को मृत्यु भएको बताइन् । उनी अहिले एक्लै बस्दै आएकी छन् ।