Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


रुपन्देहीमा अघिल्लो निर्वाचनमा कमजोर एमाले पहिलो बन्यो, तेस्रो भयो काँग्रेस


0
Shares

-दिपक घिमिरे/ ईमेज

दोस्रो संबिधानसभा निर्वाचनमा सात निर्वाचन क्षेत्र भएको रुपन्देहीमा एउटामा मात्र जित हासिल गरेको एमालेले अहिले भएको स्थानीय तह निर्वाचनमा १६ स्थानीय तहमध्ये सात वटामा प्रमुख जितेर पहिलो शक्ति बनेको हो ।

१६ स्थानीय तह मध्ये ७ स्थानीय तहमा जित हासिल गर्दै पहिलो पार्टी बन्न सफल एमालेले कांग्रेसलाई भने निकै तल पुर्‍याइदिएको छ ।

रुपन्देहीका १६ वटा स्थानीय तहको मत गणनाको परिणामले संबिधानसभामा पहिलो शक्ति बनेको कांग्रेसलाई तेस्रो स्थानमा पुर्‍याएको हो ।

संघीय समाजवादी फोरमले ४ तहमा जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

१६ स्थानीय तहमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, र एक–एक तहमा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले जित हासिल गरेका छन् ।

स्वतन्त्रबाट राजपाका नेता समेत रहेका मनमोहन चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिका हाक्दै छन् ।

एमालेले बुटवल उमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना नगरपालिकाका प्रमुख र उपप्रमुख तथा कञ्चन, सियारी, शुद्धोधन गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जित हासिल गरेको छ ।

रुपन्देहीमा ४ तह जित्दै संघीय समाजवादी फोरम नेपाल दोस्रो दल बनेको छ । समाजवादी फोरम नेपालले जिल्लाका कोटहिमाई, गैडहवा, मर्चवारीमा तथा रोहिणीमा अध्यक्ष सहित गाउँपालिका आफ्नो पक्षमा पार्न सफल भएको छ ।

संबिधान सभाको निर्वाचनमा कमजोर देखिएको संघिय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा भने आफुलाई सुधार गरेको छ ।

कांग्रेसले देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा मात्र चित्त बुझाउनु परेको छ । देवदहमा प्रमुख र केही वडा अध्यक्षमा जित निकालेको छ ।

माओवादी केन्द्र ओमसतिया गाउँपालिकामा विजयी भएको छ भने फोरम लोकतान्त्रिकले सम्मरीमाई गाउँपालिकामा जित हासिल गरेको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका स्वतन्त्र उम्मेदवार बनेका राजपाका नेता मनमोहन चौधरी विजयी भएका छन् ।

कांग्रेस नेता बालकृष्ण खाणको चुनावी क्षेत्रसमेत रहेको तिलोत्तमामा कांग्रेसले पराजय भोग्नुपरेको छ ।

कांग्रेसले आफ्नो प्रभाव रहेका क्षेत्र जोगाउन सकेन भने माओवादी बल्ल बल्ल रुपन्देहीमा खाता खोल्न सफल भयो ।

त्यस्तै राजपाका नेता शबेन्द्रनाथ शुक्लाले पनि आफुनो क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् ।

बुटवल उपमहानगरपालिकामा पनि एमालेका शिवराज सुवेदी र उपमेयरमा एमालेकै गोमादेवी आचार्य बिजयी भइन् ।

त्यसै सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले नै जित हात पार्‍यो ।

नेपाली कांग्रेसको गड मानिएको तिलोत्तमा नगरपालिकामा पनि एमालेले कम्जा जमाएको छ ।

बुटवल पश्चिममा रहेको सैनामैना नगरपालिकामा पनि एमाले बिजयी भएको छ ।

स्थानीय तहको यो निर्वाचनमा रुपन्देहीका अन्य प्रमुख स्थानमा पनि एमालेले नै कव्जा जमाएको छ ।

४ लाख ६२ हजार ५ सय ४९ मतदाता रहेको रुपन्देहीमा ३ लाख ५९ हजार ८ सय ४९ मत अर्थात ७७ दशमलव ८० प्रतिशत मत खसेको र केही मत बदर समेत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ गौतमले बताए ।

नेपाली कांग्रेस भित्र झागिदै गएको गुटगत राजनीति र प्रदेश नम्बर पाँचलाई बिभाजन गर्ने गरी संबिधान संसोधन गर्ने तत्कालिन सरकारको प्रस्तावले कांग्रेलाई तेस्रो स्थानमा पुर्‍याएको धेरैले बिश्लेशण गरेका छन् ।