Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ऋणको बढ्दो ब्याजदरप्रति आपत्ति, रुपन्देहीका उद्योगी–व्यवसायी उत्रिए सडकमा


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, माघ १६ । बैंकहरुले उद्योगी–व्यवसायीहरुको घरदैलोमा गएर दिएको ऋणको ब्याज ७ प्रतिशतबाट १४ प्रतिशत बढाइएको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायी सडकमा उत्रिएका छन् ।

सरकारको निर्देशनले पनि बैंकहरूले ऋणको ब्याजदर नघटाएपछि उद्योगी–व्यवसायी विरोध गर्न सडकमै उत्रिएका हुन् ।

ब्याजदरको उच्च वृद्धिले लागत बढेपछि उद्योग–व्यवसाय चलाउन अप्ठ्यारो भएको भन्दै विरोधस्वरुप सडकमा उत्रिएका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकलाई ब्याजदर घटाउन दबाब दिँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उद्योगी–व्यवसासीले बैंकहरुले कालोबजारी बन्द गर्नुपर्ने र कर्जाको ब्याजदर ८ प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन् ।

ब्याजदर बढेपछि लागत बढी भएकाले समानको पनि मूल्य बढेका कारण अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी बताउँछन् ।

बैंकहरुलाई नियन्त्रण गर्ने नेपाल सरकार मातहतको राष्ट्र बैंकले के गरिरहेको छ भन्ने प्रश्नचिह्न खडा भएको भन्दै व्यवासयीहरुले राष्ट्र बैकको आलोचनासमेत गरेका छन् ।

राष्ट्र र उद्योगी, व्यवसायीहरुजस्तो समस्यामा परेपनि राष्ट्रमा नाकाबन्दी, आन्दोलन, संकट आएपनि बैंकहरु लगातार नाफामा गइरहकाले यस विषयमा राष्ट्र बैंकले आवश्यक निगरानी र निर्देशन दिनुपर्नेमा व्यवसायीको जोड छ ।

बैंकहरुले सेयरधनीलाई दिने बोनस बढाएर ४० प्रतिशतसम्म पुर्‍याइसके पनि उद्योगी–व्यवसायीहरु आफ्नो ब्याज र किस्ता तिर्न नसकेर बैंकको ऋण ब्याज तिर्न अर्काे साहुकहाँ दौडिन परिरहेको व्यवसायीहरुको गुनासो छ ।

७ प्रतिशतमा दिएको ब्याज बढाएर १४ सम्म बनाउँदा नेपाल सरकारको कालोबजारी ऐन कहाँ गएको छ ? भन्दै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका छन् ।

समस्या समाधान नभए एकैपटक राष्ट्रभरिका उद्योगी–व्यवसायीहरुले ब्याज र किस्ता तिर्न नसक्ने र उद्योग–व्यवसायको चाबी राष्ट्र बैंकलाई बुझाउने संगठनले चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले व्यवसायीहरुको माग सम्बन्धित निकायमा पठाउने आश्वासन दिएका छन् ।

उद्योग–व्यापार खोल्दादेखिका सम्पूर्ण समस्या र चुनौतीहरुलाई चिर्दै व्यवसाय अगाडि बढाइ नाफामूलक बनाउनु नेपालजस्तो देशका व्यवसायीहरुलाई ‘फलामको चिउरा चपाउनु’जस्तै भइरहेको उनीहरुको दुःखेसो छ ।