Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


दाङका व्यापारी–हत्या अपहरणका मुख्य योजनाकार काठमाडौंबाट समातिए


0
Shares

महानगरीय अपराध महाशाखा, टेकुको विशेष टोलीले तार्केश्वर नगरपालिका मनमैजु बस्ने दाङ, तुलसीपुर उपमहानगरपालिका–११ कटाहका ३० वर्षीय खुमबहादुर केसीलाई मंगलबार कोठाबाटै पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बुटवल वस्त्रालयका सन्चालक एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ५३ वर्षीय राजकुमार श्रेष्ठलाई गत जेठ २६ गते अपहरण गरी सल्यान, छत्रेश्वरी गाउँपालिका–४ स्थित झिम्पे रेन्ज जंगलमा लगेर हत्या गरी ओडारभित्र शव लुकाइ फरार रहेका मुख्य योजनाकार केसीलाई पक्राउ गर्न सफल भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीकाअनुसार घटनामा संलग्न रहेर हाल फरार रहेका अन्य सातजनाको खोजी भइरहेको छ ।

यसअघि, प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा तुलसीपुर–१२ का २५ वर्षीय अवीरल महतरा, दाङ–घोराही उपमहानगरपालिका–१४ नयाँबजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापामगर र रोल्पा–जम्कोट–१ घर भइ हाल घोराही उपमहानगरपालिका–४ बस्दै आएका ४० वर्षीय मनबहादुर पुनलाई पक्राउ गरिसकेको छ ।

गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शव असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले पुरिएको अवस्थामा फेलापरेको थियो । रासस