Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सत्तारुढ दलहरु र राजपाका नेताहरुबीचको छलफल निष्कर्षविहीन


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको बैठक पनि कुनै निष्कर्षमा भने पुग्न सकेन ।

बैठकमा संविधान संशोधनमा दुई तिहाइ नपुग्ने अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले मंगलबार बिहान एमालेका नेताहरुसँग भएको कुराकानीबारे राजपाका नेताहरुलाई जानकारी गराएका थिए ।

बैठकमा कांग्रेस–माओवादीका नेताहरुले संविधान संशोधन विधेयक अगाडि बढाउन सरकार तयार रहेको जानकारी दिँदै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिबद्धता जनाउन राजपाका नेताहरुलाई आग्रह गरेका थिए ।

नेताहरुले बिहान एमालेका नेताहरु संविधान संशोधनको प्रस्तावमा छलफल गर्न सकारात्मक रहेको राजपाका नेताहरुलाई जानकारी दिँदै अन्तर्वस्तुमा भने छलफल गर्न बाँकी रहेको बताएका थिए ।

बैठकमा राजपाका नेताहरुले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन आफूहरु सकारात्मक रहे पनि संविधान संशोधन, मधेस आन्दोलनकाक्रममा आफ्ना नेता–कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थपलगायतका विषयमा सरकार थप लचिलो हुनुपर्ने विचार राखेका थिए ।

बैठकले थप छलफल गरेर संविधान संशोधन विधेयकबारे निर्णयमा पुग्ने निर्णय लिएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपाका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरलगायतका शीर्ष नेताहरु सहभागी थिए ।

यसअघि, मंगलबार बिहान कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेतासँग पनि छलफल गरेका थिए ।

तर, एमालेले स्थानीय तह निर्वाचनपछिमात्रै संशोधन प्रस्ताव ल्याउनुपर्ने धारणा राखेपछि अब के गर्ने भन्ने विषयमा फेरि सत्तारुढ दल र राजपाका नेताहरुबीच छलफल भएको हो ।

बिहानको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्ताव पारित गराउन सत्तारुढ दलले राखेको प्रस्तावमा छलफल भएपनि निश्कर्षमा पुग्न नसकेको बताएका थिए ।