काठमाडौं, माघ १५ । चालू आर्थिक वर्षको ६ महिनामा वैदेशिक लगानी ४ अर्ब रुपैयाँले घटेको छ ।
गत वर्षको पहिलो ६ महिनामा १४ अर्ब बराबरका १६८ ओटा वैदेशिक लगानीका उद्योगहरु स्थापना भएका थिए ।
तर, चालू आर्थिक वर्षको ६ महिनामा १० अर्ब बराबरको लगानी स्वीकृत भइ १९३ ओटा उद्योगहरु स्थापना भएका छन् ।
ठूला तथा मझौला उद्योगहरुमा वैदेशिक लगानी आएको छ ।
अघिल्लो वर्षको तुलनामा हालसम्म ४ अर्बले वैदेशिक लगानी घटेको देखिएको हो ।
उद्योग विभागको तथ्यांकअनुसार विदेशी लगानीमा ४ हजार ६०० बढी उद्योगहरुमा दुई खर्ब ७८ अर्ब बढी लगानी रहेको छ ।
त्यसमध्ये सबैभन्दा बढी ऊर्जामा ६० प्रतिशतभन्दा बढी लगानी रहेको विभागले जनाएको छ ।
गत वर्ष ठूला आयोजनाहरुमा लगानी आएको भएपनि यस वर्ष ठूला परियोजनाहरु नभइ साना एवं मझौला उद्योगमा वैदेशिक लगानी आएकाले कम लगानी देखिएको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले बताए ।
लगानी स्वीकृत भएकामध्ये सबैभन्दा बढी तीन हजार ९७० ओटा साना, ४१० ओटा मझौला र २९४ ओटा ठूला उद्योगमा वैदेशिक लगानी रहेको विभागले जनाएको छ ।
संख्याको हिसाबले सेवामूलक उद्योगमा सबैभन्दा बढी वैदेशिक लगानी रहेको छ । यसको संख्या १५ सय ६८ रहेको छ ।
रकमको हिसाबले भने ऊर्जा क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी आएको छ ।
यस अवधिमा उर्जा क्षेत्रमामात्रै एक खर्ब ३८ अर्ब लगानी आएको विभागले जनाएको छ ।
उत्पादनमूलक क्षेत्रमा पाँच अर्ब बराबर लगानी आएको छ भने पर्यटनको क्षेत्रमा तीन अर्ब बराबर लगानी भित्रिएको विभागको तथ्यांक छ ।
लगानीसम्बन्धी झन्झटिलो प्रक्रियाका कारण पर्याप्त लगानीको सम्भावना भएपनि वैदेशिक लगानी नआएको गुनासो आएकाले प्रक्रियालाई सरल बनाउन लागेको विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्