१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


रुपन्देहीमा १ सय ६१ जनामा डेंगुको संक्रमण भेटियो


0
Shares

उपचार गराउन अस्पताल पुगेका मध्ये असार मसान्तसम्म १ सय ६१ जनामा डेंगुको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो तथ्यांक विगत ४ वर्षकै बढी हो । संक्रमितको संख्या बढ्दै गएपछि जनस्वास्थ्य कार्यालयको टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविका सहितको टोली परिचालन गर्ने जनाएको छ ।

टोलीले सिद्धार्थनगरका १३ वटै वडाका प्रत्येक घरमा लामखुट्टे र लार्भाका सम्भावित वासस्थानको खोजी र नष्ट, लामखुट्टे संकलन र चेतनामूलक कार्यक्रम गर्ने बताइएको छ ।

लामखुट्टेको टोकाईबाट अति नै शीघ्ररुपमा फैलने भाइरसको संक्रमणबाट यो रोग फैलने गर्छ । यो रोग एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ ।

डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिशा कालो हुनेजस्ता लक्षण देखिन्छ ।