नेपाल इन्जिनियर्स एसोसिएसनको ५५औं वार्षिकोत्सवको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्नसमेत सबैमा आग्रह गरे ।
प्रधानमन्त्री देउवाले आगामी मंसिरभित्रै तीनओटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताउँदै ‘माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण आयोगको एक/दुई दिनभित्रै निर्क्योल हुनेछ, संविधानको सर्वस्वीकार्यता बढाइ देशलाई समृद्धितर्फ अघि बढाउन सबैको ध्यान जानुपर्छ’–भने ।
‘देशको विकास निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको छ’–उनले भने–‘स्थानीय निकायमा इन्जिनियरलगायत सबै कर्मचारीको मनोबल उच्च बनाउन सुविधा र जिम्मेवारीको सुनिश्चितता गरिने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले अझैपनि भूकम्पपीडित पालमुनि बस्न बाध्य रहेको उल्लेख गर्दै ‘उनीहरुको उचित व्यवस्थापनका लागि इन्जिनियरलगायत सबैको सक्रियता आवश्यक छ’–भने ।
इन्जिनियरको क्षमता अभिवृद्धिका लागि एसोसिएसनले स्टाफ कलेज निर्माणको माग गरेकोमा त्यसका लागि आफू सकारात्मक रहेको उनले बताए ।
पूर्वमन्त्रीद्वय लक्ष्मण घिमिरे र गणेश साहले विज्ञान र प्रविधिको विकास गर्न कम्तीमा देशको एक प्रतिशत बजेट लगानी गरी इन्जिनियरिङ पेसालाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले स्थानीय निकायमा इन्जिनियरलाई खटाउँदा उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउँदै इन्जिनियरहरु पनि पेसाप्रति मर्यादित र जिम्मेवार ढंगले देश निर्माणमा जुट्नुपर्ने बताए ।
सो अवसरमा एसोसिएसनले संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरणलाई उत्कृष्ट सम्मान तथा प्राधिकरणकै प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
यसैगरी, इन्जिनियर ईश्वरीमान प्रधानलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ भने उत्कृष्ट काम गर्ने इन्जिनियर दामोदर आचार्य, डा. सुधा श्रेष्ठ र देवेन्द्रकुमार झालाई सम्मान गरियो । रासस





प्रतिक्रिया दिनुहोस्