Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


निर्वाचनका लागि तातियो कांग्रेस, अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्छु : देउवा


0
Shares

कांग्रेसले बिहीबार राजधानीमा प्रदेश नम्बर–२ को पार्टीको भेला गर्दै कांग्रेसको जित सुनिश्चित गर्न रणनीनिकरुपमा अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावजस्तो चुनौतीपूर्ण कामलाई सफल बनाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

उनले हार–जितभन्दा पनि मुलुकको समस्या समाधान गर्न सकेकोमा कांग्रेसले गौरव गर्नुपर्ने बताए ।

सभापति देउवाले ‘स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउने अरु कोही नभएर कांग्रेसी नै’ भएको भन्दै पार्टीभित्र अन्तर्घात गर्नेलाई अनुशासन समिति बनाएर कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे ।

सभापति देउवाले प्रदेश नम्बर–२ को निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी पनि गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकोमात्र नभइ समग्र मधेसका समस्या समाधान गर्न प्रयासरत् रहेको बताए ।

कांग्रेसको सबै शक्ति प्रदेश नम्बर–२ को चुनावमा केन्द्रित गर्नुपर्ने भन्दै उनले जनताको मन जित्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाले गुटबन्दीका कारण पार्टीले पराजय भोग्नुपरेको स्मरण गर्दै गुटबन्दी अन्त्य गर्न निर्देशन दिए ।

भेलाले प्रदेश नम्बर–२ मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट साउनभित्रै गरिसक्ने र भदौमा प्रचार–प्रसारमा लाग्ने निर्णय गरेको छ ।