काठमाडौं, माघ १४ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकामध्ये २७२ व्यक्ति तथा संस्थालाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रमाणीकरण भएका व्यक्ति एवं संस्थालाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा मन्त्री विष्टले सामाजिक न्यायका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको भन्दै यसमा सहभागी हुन आह्वान पनि गरे ।
नेपाली श्रम बजारलाई व्यवस्थित बनाउन र जनशक्ति परिपूर्तिका लागि सामाजिक सुरक्षा कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
नेपाली श्रम बजार अझैपनि व्यवस्थित भइनसकेको पनि उनले बताए ।
सामाजिक सुुरक्षा कोषमा हालसम्म ६२५ संस्थाहरुले आवेदन दिएका छन् । यीमध्ये १२६ संस्था तथा व्यक्तिको विवरण प्रमाणीकरण गर्न बाँकी रहेको कोषले जनाएको छ ।
कोषमा सहभागी हुन सरकारले आगामी वैशाखसम्मको समयावधि दिएको छ ।
कोषमा सहभागी हुन सातओटा प्रदेशलाई समय छुट्याएको कोषका निर्देशक शंकर नेपालले जानकारी दिए ।
सामाजिक सुरक्षा कोषमा समावेश नहुने संस्था तथा कम्पनीलाई दन्ड–सजायको व्यवस्थासमेत कोषले गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्