Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन विधेयक पेस, ‘दललाई प्रतिबन्ध लगाउने उद्देश्य छैन’


0
Shares

गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक तथा प्रदेशसभा सदस्य निर्वाचन विधेयक २०७४ बिहीबारको संसद बैठकमा पेस गरेका हुन् ।

दुबै विधेयक प्रस्तुत् गर्दै गृहमन्त्री शर्माले दलहरुलाई प्रतिबन्ध लगाउने उद्देश्य विधेयकमा नरहेको स्पस्ट पारे ।

उनले प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुलाई व्यवस्थित गर्न ‘थ्रेसहोल्ड’सहित विधेयक ल्याइएको जानकारी पनि दिए ।

उनले विधेयकले राष्ट्रिय दल हुनका लागि खसेको कुल मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

त्यस्तै, कर्मचारी समायोजन विधेयक र स्थानीय शासन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

बैठकले अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ ।

यसअघि, संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले राजधानीका सडकमा हुने गरेका दुर्घटना, भूकम्पप्रभावित क्षेत्रमा पहिरोको खतरा बढेको, विभिन्न ठाउँमा बाढी–पहिरोले पुर्‍याएको क्षति तथा प्रभावित बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा नेपाली कंग्रेसका सांसद भीमसेनदास प्रधानले राजधानीका सडकमा खनिएको ढलमा परी बालिकाको मृत्यु भएको घटनाले आफूलाई दुःखी बनाएको भन्दै मृतक बालिका विनीता फुयाल अध्ययनरत् विद्यालयमा अक्षयकोष स्थापनाका लागि आफूले एक महिनाको पारिश्रमिक दिने बताए ।

यस्तै, नेकपा एमालेका सांसद भीम रावलले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

यस्तै, सांसद अनुराधा थापामगरले विनीता फुयालको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

यसअघि, बिहीबारै बसेको संसदको पहिलो बैठकले पूर्वसांसद रामहरि जोशीको निधनप्रति शोकप्रस्ताव पारित गरेको थियो ।

पूर्वसांसद जोशीको ९२ वर्षको उमेरमा असार २९ गते उपचारकाक्रममा काठमाठौंमा निधन भएको थियो ।