काठमाडौं, माघ १४ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीमा अहिले काम गरिरहेका सहायक ठेकेदारबाट नै बाँकी काम अगाडि बढाए आगामी ९ महिनाभित्र आयोजना सम्पन्न गर्नसकिने जनाएको छ ।
सोमबार प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिको बैठकमा आयोजना प्रमुख सूर्य कँडेलले नयाँ ठेक्का लगाउने अवस्था नरहेको भन्दै नयाँ ठेक्का प्रक्रियामा गए आयोजना सम्पन्न हुन दुई वर्ष लाग्ने बताए ।
आयोजनालाई कुन प्रक्रियाबाट अगाडि बढाउने भन्ने विषयमा निर्देशन दिन पनि उनले समितिलाई आग्रह गरे ।
आयोजनाले काममा फर्कन मुख्य ठेकेदार कम्पनी सीएमसीलाई यही माघ २० गतेसम्मको सीमा दिएको छ ।
तोकिएको समयसम्म पनि सीएमसी काममा नफर्किए ठेक्का तोडिनेछ भने नयाँ प्रक्रियाबाट आयोजना अगाडि बढाउनुपर्ने हुन्छ ।
ठेकेदार पुनः काममा नआए धरौटीवापतको दुई अर्ब २१ करोड रुपैयाँ धरौटी जफत प्रक्रिया अगाडि बढाउने आयोजना प्रमुख कँडेलले बताए ।
उनले सीएमसीले करिब ८ करोड रुपैयाँ कामदारको पारिश्रमिकलगायतको पैसा नतिरेको जानकारी आएको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्