काठमाडौं, माघ १४ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झन्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दासमेत सेवा नपाउने सेवाग्राहीको संख्या बढिरहेको कार्यालयले जनाएको छ ।
‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए ।
कार्यालयले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि अहिलेसम्म ६ लाख ८० हजारले अनुमतिपत्रका लागि आवेदन दिएका छन् ।
तीमध्ये अहिले चार लाख १० हजारसम्मको वितरण भइसकेको छ ।
विभागले छपाइ गरेर कार्यालयमा पठाउँदा क्रमिकरुपमा नपठाएको उनले बताए ।
ती सेवाग्राही आफ्नो अनुमतिपत्र आएको छ/छैन भन्ने बुझ्न कार्यालय आउने गरेको कार्यालयले बताएको छ ।
उनले भने–‘कति त आएको छैन भनेपछि सजिलै फर्कन्छन् । कतिले भने ढिलाइ भएको भन्दै कराउने गर्छन् ।’
नेपालमा पहिलोपटक यही कार्यालयबाट नै ‘स्मार्ट’ चालक अनुमतिपत्रको सुरु भएको प्रमुख उप्रेतीले बताए । अहिले देशभरका यातायात व्यवस्था कार्यालयले यो सेवा दिने गरेका छन् ।
विभागले नै देशभरका कार्यालयबाट आएका आवेदनबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने गरेको छ ।
विभागमा भएको मेसिनको क्षमताभन्दा बढी छाप्नुपर्दा ढिलाइ भइरहेको उप्रेतीले बताए ।
अहिले १३ महिनापहिले आवेदन दिएका सेवाग्राहीको चालक अनुमतिपत्र वितरण भइरहेपनि क्रमिक नहुँदा त्योभन्दापहिलेका सेवाग्राहीलेसमेत पाएका छैनन् ।
उनले भने–‘चार लाख १० हजारभन्दा पुरानो अनुमतिपत्रसमेत वितरण गर्न बाँकी छ ।’
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालकले लामो समयदेखि राजश्व तिरेको रसिद बोकेर सवारी चलाइरहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्