२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


प्रेम गर्दा निर्घात् कुटपिट, युवा–युवती के भन्छन् ? पाँचजनाविरुद्ध मुद्दा (भिडियोसहित)


0
Shares

रुपन्देहीको मर्चवारमा एक युवतीमाथि चरम हिंसा भएको हो । गत असार १९ गते सम्मरीमाई गाउँपालिका–६ डीहुलीका १७ वर्षीया मनिता यादव र १८ वर्षीय दिनेश लोधबीच एक वर्षदेखि चलेको पे्रमले मूर्तरुप नलिएपछि हिंसाको रुप लिएको हो ।

परिवार र गाउँलेले कुटपिट गरेको दृश्य सामाजिक सन्जालमा ‘भाइरल’ भएपछि यो घटनाले चर्चा पायो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा स्थानीय रमिते बनेर बसेका थिए ।

दुईको प्रेम सम्बन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएर निर्घात्रुपमा कुटपिट गरेको बताइएको छ ।

युवकलाई बचाउन गएकी युवतीमाथि पनि परिवारका सदस्यहरु मिलेर दुबैजनालाई कुटपिट गरेका हुन् । घटनापछि प्रहरीले कुटपिट गर्ने युवतीका बुबा इन्नर अहिरलाई पक्राउ गरेको थियो ।

तर, भोलिपल्टै मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँ, सम्मरीमाई गाउँपालिका–२ का वडाध्यक्ष सत्यनारायण बानियाँ र स्थानीय जर्नादन यादवलगायतले अहिरलाई छुटाएका थिए ।

युवक पक्षले युवती पक्षलाई एक लाख रुपैयाँ नगदसमेत दिएको छ ।

घटनाबारे प्रहरी र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ–सस्थालाईसमेत कुनै जानकारी गराइएको थिएन ।

घटनाको भिडियो सार्वजनिक भएपछि महिला तथा बालबालिकाको हिंसाविरुद्धमा काम गर्दै आएको एबीसी नेपालका कार्यक्रम संंयोजक मनोज लामिछानेसहितको टोलीले घटनास्थलमा पुगेर घटनाक्रमबारे जानकारी लिएको छ ।

यता, माइती नेपाल क्षेत्रीय कार्यालय भैरहवाकी कार्यक्रम संयोजक प्रभा खनालले १८ दिनअगाडिको घटना बल्ल सार्वजनिक गरेर मुद्दा चलाउनु प्रहरीको फितलोपन भएको भन्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताइन् ।

रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र धानुकले घटनामा दोषी देखिएका पाँचजनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको र इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक उदयसिंह सिजापतीलाई विभागीय कारबाहीको सिफारिस गरिएको बताए । (विस्तृत भिडियो हेर्नुहोस्) ।