
काठमाडौं, माघ १३ । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ तय गरिएको छ ।
सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि हाल ०.९४ प्रतिशत मानिसमा कुष्ठरोग रहेको सरकारी तथ्यांक छ । नेपालमा हरेक वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेका छन् ।
कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले यस वर्ष ३ हजार १ सय ८६ नयाँ कुष्ठरोगी पत्ता लागेको जनाएको छ । निवारण भएको ९ वर्षसम्म पनि नयाँ कुष्ठरोगीको संख्या देखिनुले यसको जोखिम अझै कायम छ भन्ने देखिएको कुष्ठरोग विशेषज्ञ डा. महेश शाह बताउँछन् ।
नेपालमा अहिलेसम्म १८ हजार ५ सय जनाको कुष्ठरोग पूर्णरुपमा निको भइसकेको छ भने ३० हजार व्यक्ति कुष्ठरोगबाट अपांग भएका छन् । छाला र नशामा देखिने कुष्ठरोग लेप्रा भन्ने किटाणुका कारण लाग्ने गर्दछ । कुष्ठरोग वंशाणुगत रोग भने होइन । तर परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् ।
कुष्ठरोगको लक्षण देखा पर्नेबित्तिकै उपचार गर्न सकियो भने अपांगता हुनबाट भने जोगिन सकिन्छ । तर सरकारले कुष्ठरोग प्रभावितलाई उपचार गर्ने छुट्टै अस्पतालको भने व्यवस्था गरेको छैन ।
यस्तै, कुष्ठरोग प्रभावितलाई अन्य अस्पतालमा पनि उपचार गराईदैन । जसका कारण समयमै उपचार नपाउँदा धेरै मानिस अपांगता हुने गरेका छन् । कतिपय सामाजिक संस्थाहरुको अग्रसरतामा यसको उपचार गरिँदै आएको छ ।
ललितपुरको आनन्दवनस्थित लेप्रोसी मिसनको सहयोगमा कुष्ठरोगीहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । त्यसका लागि ८० वटा बेड निःशुल्क र २० वटा शुल्क तिरेर उपचार गर्न पाउने व्यवस्था छ । सरकारले निकै तामझामका साथ कुष्ठरोग उन्मूलनको घोषणा गरेको लामो समय बितिसक्दासमेत अझै कुष्ठरोगी देखिँदै जानुले सरकारको घोषणामा प्रश्न उठाउन ठाउँ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्