१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


तारापुर शिविरमा रोगका प्रकोप, ७० जनाभन्दा बढी बिरामी


0
Shares

शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एकसाता अघिदेखि झाडापखाला, ज्वरो, जोर्नी दुख्ने, बान्ता हुने, शरीर चिलाउने, ठूल्ठूला फोका उठ्नेजस्ता लक्षण देखिएकोे शिविरका नरिभान ढुंगेलले बताए ।

‘शिविरमा बालबालिका, महिला र ज्येष्ठ नागरिकमात्रै रहेका र कमाइ गर्न युवा भारतलगायत शहरी क्षेत्रमा रहेकाले उपचारका लागि लैजाने व्यक्तिसमेत नहुँदा समस्या देखिएको छ’ उनले भने ।

बिरामी परेकासँग उपचारका लागि खर्चको अभाव हुँदासमेत झोपडीमै रोग सहेर बस्नुपरेको उनको भनाई छ । ‘बिरामी परेकाको उपचारमा समस्या देखिएपछि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ’ परमलबहादुर ऐडीले भने ।

चाँडै औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाई उपचारमा सघाउ पुर्‍याउने अश्वासन दिएको उनले बताए ।

शिविरमा बस्दै आएका परिवारले रातभर दाउरा, गुइँठाको प्रयोग गरी धुवाँ बनाइ लामखुट्टे भगाउने कार्य गर्दै आएका छन् । लामखुट्टको टोकाइबाट बच्चालाई बचाउन झुल नहुँदा उनीहरुले वैकल्पिक उपाय धुवाँ अपनाउँदै आएका हुन् ।

मजदुरी गरेको पेशाले साँझ बिहानको छाक टार्नमै ठिक्क हुने भएकाले झुल किन्न नसक्दा धुवाँको सहारा लिनु परेको ढुंगेलले बताए । धुवाँका कारण अधिकांश शिविरमा बसोबास गर्दै आएका परिवारमा खोकीलगायतको श्वासप्रस्वासको समस्यासमेत देखिएको छ । यसबाट बालबालिका र महिला बढी प्रभावित भएका छन् ।

झुल उपलब्ध गराउन विभिन्न निकायमा पुग्दासमेत सुनवाइ नभएको शिविरमा बस्दै आएका परिवारको भनाई छ । रासस