एन्फाको लापरबाहीका कारण गत वर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु ६ करोड माग गर्दै आएको छ ।
सोही विषयमा कुरा नमिलेपछि बुधबार बसेको बैठक आज १ बजे पुनः बस्ने गरी स्थगित गरिएको थियो ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको राससलाई जानकारी दिए ।
उनले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको बताए ।
बुधबारको बैठकका लागि तय भएका विभिन्न ९ ओटा एजेन्डामा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक अन्य सबै विषयमा लगभग सहमति भएको थियो ।
एसियाली फुटबल महासंघ (एएफसी)ले तीनपटकसम्म इमेल पठाएपनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्रीस्टार क्लब दोस्रो चरण खेल्नबाट वन्चित भएको थियो ।
थ्रीस्टारले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा सहभागी नहुने भन्दै बहिस्कार गर्दै आएको छ । रासस





प्रतिक्रिया दिनुहोस्