ध्रुव भट्टराई/ईमेज
विराटनगर । मोरङको राधानगरमा पेट्रोलखानीको सम्भावना देखिए पनि त्यसको यकिन नहुँदा अन्योल देखिएको छ ।
खानी भए/नभएको वास्तविकता पत्ता नलाग्दा जग्गालाई अन्य प्रयोजनमा ल्याउन नपाएपछि अन्योल देखिएको हो ।
विभिन्न ठाउँका खानीहरुको उत्खनन् गर्ने सरकारी योजना योजनामै सीमित रहँदा मोरङको राधानगरमा रहेको संभावित पेट्रोलखानी अलपत्र परेको छ ।
खानीको उत्खनन गरी आवश्यक काम अगाडि नबढाउँदा खानी भए नभएकोबारे अन्योलता कायमै छ ।
सरकारले अन्वेषणमा खासै चासो नदिँदा सो क्षेत्र गौचरणमा परिणत हुँदै गएको स्थानीय रविन थापा बताउँछन् ।
मोरङको बेलवारी–८ स्थित राधानगरमा पर्ने करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको जग्गालाई सरकारले विगत ३० बर्षदेखि संरक्षण गर्दै आइरहेको छ ।
जसको लागि दुई जना व्यक्तिलाई त्यसको रेखदेख गर्ने जिम्मा दिइएको छ ।
२०४५ सालमा मंरिचमान सिंह नेतृत्वको सरकारले राधानगरमा पेट्रोलखानी रहेको बताएपछि स्थानीयको जग्गा समेत अधिग्रहण गरिएको थियो ।
इटालीयन सेल नेपाल नामक कम्पनीले खानीको अन्वेषणको ३५ सय २० मिटर गहिरो ड्रिल गर्दा पनि तेल नभेटिएको बताएपछि अन्वेषणको काम ओझेलमा परको थियो । २०७३ सालमा पेट्रोल अन्वेषण र उत्खनन्का लागि चिनियाँ टोलीले सम्भावित क्षेत्रबाट नमूना लिएर गएको थियो ।
त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि त्यसको रिपोर्ट अझै सार्वजनिक भएको छैन ।
चर्चामा मात्र सीमित बनेको खानीक्षेत्रमा तेल रहे/नरहेकोमा एकिन नहुँदा जग्गालाई सदुपयोग गर्न नसकिएको बेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताए ।
पेट्रोलियम पर्दाथमा मुलुक सम्पूर्ण रुपमा परनिर्भर रहेपनि सम्भावित क्षेत्रको अन्वेषण हुन सकेको छैन ।
अर्कोतर्फ सम्भावनामै सीमित राख्दा ती क्षेत्रलाई अन्य प्रयोजनमा उपयोग गर्न पनि सकिएको छैन ।










प्रतिक्रिया दिनुहोस्