Logo ११ आश्विन २०८२, शनिबार | Sun Sep 28 2025


मुहार फेर्दै पाँचथर अस्पताल, ५० शैयाको बनाउने तयारी


0
Shares

-जितेन्द्र भण्डारी/ईमेज

अहिले अस्पताल प्रशासन बिरामी मैत्री मात्र भएको छैन,अस्पताल परिसर पनि सफा र सुग्घर बन्दै गएको छ ।

छोटो समयमै पाँचथर जिल्ला अस्पताल परिसरको वातावरण फेरिएको छ । केही महिनाअघिसम्म लथालिंग अवस्थामा रहेको अस्पताल अहिले पुरै परिवर्तन भएको छ ।

अस्पताल विकास समितिको अध्यक्षमा युवा व्यवसायी दीपक नेपाल चयन भएपछि अस्पतालले मुहार फेरेको हो ।

कार्यकाल सम्हालेको ६ महिनामै नेपालले अस्पतालमा आमूल परिवर्तन ल्याइदिनुभएको हो ।

अस्पतालको सरसफाई र बिरामीलाई छिटो र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप काम गरेपछि अस्पतालको स्वरुप नै परिवर्तन भएको अध्यक्ष नेपाल बताउँछन् ।

६ महिनाअघिसम्म अस्पताल परिसरमा रहेको शौचालय दुर्गन्धित थियो । प्यासेजमा लगाइएका टायलसमेत उक्किसकेका थिए भने बिरामीका कुरुवा उल्टै बिरामी हुने अवस्था थियो ।

तर अहिले सबै परिवर्तन भएका छन् । अस्पतालमा नयाँ क्यान्टिन बनाइएको छ भने अस्पताल परिसरमा बनाइएको बगैँचालाई वरीपरी घेराबारा गरिएको छ ।

अस्पताल जाने सडक कालोपत्रे मात्र गरिएको छैन, अस्पतालभित्रै फार्मेसी सञ्चालन गरिएको छ ।

३० करोड रुपैयाँको लागतमा पाँचथर अस्पताललाई ५० शैयाको बनाउने तयारी भइरहेको छ । छोटो समयमै अस्पतालमा धेरै परिवर्तन आएको सेवाग्राही बताउँछन् ।

अस्पतालको बाहिरी पक्षमा मात्र सुधार गरिएको होइन । बिरामीको जाँच तथा परामर्श पनि राम्रोसँग सञ्चालन भइरहेको अस्पतालका निमित्त प्रमुख डा.भूपाल श्रेष्ठ बताउँछन् ।

अस्पताल प्रशासनले शुरु गरेको सुधारको प्रयासलाई सुरक्षा निकायले समेत साथ दिएका छन् ।

बिरामीलाई आवश्यक परेका बेला जस्तोसुकै सहयोग गर्न आफूहरु खटिने गरेको अस्पतालमा खटिएका प्रहरी हवल्दार राजकुमार कार्की बताउँछन् ।

पाँचथर जिल्ला अस्पताललाई ५० शैयाको बनाउन थालिएको छ ।

अस्पताल प्रशासनले गरेको सुधार र स्तरोन्नतिले स्थानीयबासिन्दामा मात्र नभई आसपासका जिल्लाका नागरिकमा पनि खुसी छाएको छ ।